
काठमाडौं, १६ जेठ । सरकारले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न बजेट केन्द्रित गरेको छ। कोरोना भाइरस (कोभिड १९)ले बेरोजगारको संख्या बढिरहेका बेला बेरोजगार समस्या सम्बोधन गर्नेगरी बजेट विनियोजन गरेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै कोरोना भाइरस (कोभिड १९) ले वैदेशिक रोजगारीबाट फर्किएकालाई र स्वदेशमै रोजगारी गुमाएका सबैलाई सम्बोधन गर्न रोजगारमैत्री बजेट विनियोजन गरेको हो। सरकारले रोजगारी सिर्जना र सीपमूलक तालिम प्रदान गर्न २० अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। यसबाट ६ लाखभन्दा बढीले रोजगारी पाउने सरकारले आँकलन गरेको छ। आउँदो आर्थिक वर्षमा मर्यादित काम, सामाजिक सुरक्षा र आदर्श श्रममा प्राथमिकता दिँदै रोजगारी बढाउन आकर्षक प्याकेज ल्याएको खतिवडाले बताए।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हरेक स्थानीय तहबाट रोजगारी सिर्जना गर्ने सरकारले घोषणा गरेको छ। उक्त कार्यक्रमका लागि सरकारले ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ। यसबाट आउँदो आर्थिक वर्षमा दुई लाखले रोजगारी पाउनेछन्। सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पाँच अर्ब बजेट विनियोजन गरेको थियो। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।