१५ जेष्ठ २०७७, बिहीबार
  • देवराज पन्त

मकवानपुर, १५ जेठ । मकवानपुरको कैलाश गाउँपालिकाको भवनमा आज आगलागी भएको छ । वडा नम्बर ३ मा रहेको कालिकाटारस्थित गाउँपालिकाको कार्यपालिकाको मुख्य प्रशासनिक भवन जलेर पूर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् ।

गाउँपालिकाको कार्यालयमा सौर्य उर्जा प्रणाली (सोलार प्यानल) मा सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आज पालिकाको न्यायिक समितिको बैठक चलिरहेकै बेला आगलागी भएको थियो । भवनमा आगो लागेपछि तत्कालै बैठक छोडेर भवनबाट सबै बाहिर निस्किएका थिए । प्रि-क्याप प्रविधिबाट निर्माण गरिएको १८ कोठे सो प्रशासनिक भवनमा रहेका गाउँपालिकाका सबै कागजात, जिन्सी सामानहरु समेत नष्ट भएको जनाइएको छ ।

जिल्लाको विकट क्षेत्र मानिने सो स्थानमा बारुण यन्त्रसहितको सुविधा छैन । आगलागी भएपछि गाउँपालिकासँगै रहेकाे इलाका प्रहरी कार्यालय अन्तर्गतको भार्ता प्रहरी चौकीका प्रहरीसहित स्थानीयहरुले आगोलाई नियन्त्रण्मा लिएको थियाे ।

गाउँपालिकाका अध्यक्ष टंक मोक्तान भने युरिया मलको व्यवस्था गर्नका लागि हेटौंडामा रहेकोले आगलागीको जानकारी पाउना साथ फर्किदै गरेकाे बताए । हामीले यो समाचार तयार पार्दासम्म अध्यक्ष मोक्तान आफू कार्यपालिका जाँदै गरेको जानकारी दिएका छन् ।

गाउँपालिकासँगै घना वस्ती नभएका कारण अन्यत्र घरहरुमा आगो फैलन भने पाएन । आगलागीबाट भएकाे क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV