१५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, १५ जेठ । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक आगामी शनिबार बस्ने भएको छ ।

संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेर हिजो बुधबारको बैठकमा कार्यसूचीमा राखिएको थियो । तर पछि एकाएक कार्यसूचीबाट हटाएपछि त्यसलाई लिएर नेपालमा मात्र नभइ भारतीय सञ्चार माध्यममा पनि ‘मसला’को विषय बनाइएको थियो ।

काँग्रेसले समय मागेकोले कार्यसूचीबाट हटाइएको भन्ने सत्तारुढ नेकपाका केही नेताहरुको भनाइलाई लिएर काँग्रेसले चर्को असन्तुष्टि व्यक्त गर्दै कार्यसूचीबाट हटाइनुमा आफ्नो कुनै दोष नरहेको प्रष्ट पारेको छ ।

काँग्रेसले संविधान संशोधन प्रस्तावलाई सकारात्मक बताइसके पनि यसबारे औपचारिक निर्णय गर्न बाँकी रहेकोले केन्द्रीय कार्यसमिति बैठक बोलाएको पनि उसले प्रष्ट पारेको छ ।

पर्सि जेठ १७ गते शनिबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा काँग्रेसले संविधान संशोधन प्रस्तावमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै भारतद्वारा अतिक्रमित नेपालको भूभागको बारेमा आफ्नो थप अडान प्रष्ट पार्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV