१५ जेष्ठ २०७७, बिहीबार

काठमाडाैं, १५ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले अब हरेक नेपाली जनताको जीवनस्तर माथि उठाउनु पर्ने दायित्वमा दत्तचित्त भएर लाग्नु पर्ने बताउनुभएकाे छ ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै सभामुख सापकोटाले गणतन्त्र दिवसलाई विषम परिस्थिति पार गरेर अघि बढ्ने संकल्प दिवसको रुपमा मनाउनुपर्ने अवस्था आएको छ बताएका बताउनुभएकाे छ ।

‘गणतन्त्र स्थापनाका गौरवशाली १२ वर्ष पूरा हुँदै गर्दा हामी कोभिड–१९ महामारीबाट उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न बाध्य छौं । जसका कारण यस बर्षको गणतन्त्र दिवस उल्लासमय तवरमा मनाउन सकिने अवस्था रहेन । एकातिर महामारीबाट जनताको जीवनरक्षाको सवाल छ भने अर्कोतिर बन्दाबन्दी अर्थात् लकडाउनका कारण उत्पन्न आर्थिक विषमतालाई पार गरेर अघि बढ्नुपर्नेछ । गणतन्त्र दिवसलाई हामीले यो विषम परिस्थिति पार गरेर अघि बढ्ने संकल्प दिवसको रुपमा मनाउनुपर्ने अवस्था आएको छ,’ जारी सन्देमा उहाँले भन्नुभएकाे छ ।

यस ऐतिहासिक दिवसका अवसरमा आम नागरिकको अपेक्षाअनुसार संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न दलहरुबीच सुदृढ राष्ट्रिय एकता कायम गरी सम्बृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न प्रेरणा मिल्ने विश्वास लिएकाे पनि उहाँले बताउनुभएकाे छ ।

सापकोटाको शुभकामना सन्देशकाे पूर्णपाठ

तेह्रौं गणतन्त्र दिवसको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हृदयदेखि नै शुभकामना व्यक्त गर्दछु । २०६५ साल जेठ १५ गते संविधानसभाको बैठकबाट घोषणा गरिएको गणतन्त्रको नेपालको संविधानमार्फत् संस्थागत भएको छ ।

यस अवसरमा नेपालमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षका क्रममा जीवन आहुती दिनु भएका सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

गणतन्त्र प्राप्तिको कठोर संघर्षमा घाइते तथा अपाङ्ग हुनुभएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिनुभएका योद्धाहरुको उच्च बलिदानीभावको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । उहाँहरुको साहस, अग्रगामी परिवर्तनको तीब्र इच्छाशक्ति एवं बलिदानीपूर्ण संघर्षका कारण हामी आजको अवस्थासम्म आइपुगेका हौं ।

नयाँ संविधानमार्फत् हामीले गणतन्त्रलाई संस्थागत गर्ने कार्य सम्पन्न गरेको छौं । गणतन्त्र संगसंगै नयाँ संविधानमा संघीयता र धर्मनिरपेक्षता पनि सुनिश्चित गरियो जसको व्यवहारिक अभ्यास भइरहेको छ । अब हामीले हरेक नेपाली जनताको जीवनस्तर माथि उठाउनु पर्ने दायित्वमा दत्तचित्त भएर लाग्नु पर्नेछ ।

गणतन्त्र स्थापनाका गौरवशाली १२ वर्ष पूरा हुँदै गर्दा हामी कोभिड–१९ महामारीबाट उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न बाध्य छौं । जसका कारण यस बर्षको गणतन्त्र दिवस उल्लासमय तवरमा मनाउन सकिने अवस्था रहेन । एकातिर महामारीबाट जनताको जीवनरक्षाको सवाल छ भने अर्कोतिर बन्दाबन्दी अर्थात् लकडाउनका कारण उत्पन्न आर्थिक विषमतालाई पार गरेर अघि बढ्नुपर्नेछ । गणतन्त्र दिवसलाई हामीले यो विषम परिस्थिति पार गरेर अघि बढ्ने संकल्प दिवसको रुपमा मनाउनुपर्ने अवस्था आएको छ ।

यस ऐतिहासिक दिवसका अवसरमा आम नागरिकको अपेक्षाअनुसार संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न दलहरुबीच सुदृढ राष्ट्रिय एकता कायम गरी सम्बृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न प्रेरणा मिल्ने विश्वास लिएको छु ।

अन्त्यमा, सम्पूर्ण नेपालीजनमा तेह्रौं गणतन्त्र दिवसका अवसरमा हार्दिक बधाई एवं शुुभकामना व्यक्त गर्दछु ।

२०७७/०२/१५
अग्निप्रसाद सापकोटा
सभामुख

प्रतिक्रिया दिनुहोस्
LIVE TV