१५ जेष्ठ २०७७, बिहीबार

काठमाडाैँ, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव सकारात्मक रहेकाे बताएका छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू-भाग रहेकाे उल्लेख गर्दै देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ । केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्नेछौं । नेपाली कांग्रेसको धारणा बारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु ।’

सन्देशमा भनिएकाे छ, ‘लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको बताउँदै देउवाले स्थायित्व कायम गर्नु अबकाे दायित्व रहेकाे बताएका छन् ।

‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ सन्देशमा भनिएकाे छ ।

अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण देश कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ उनले उच्च सर्तकता र दृढ मनोबलका साथ महामारीको सामना गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV