
काठमाडौं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान गर्नुभएको छ । १३ औँ गणतन्त्र दिवसकाे अवसरमा एक शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिनुभएकाे छ ।
सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।’

सदाकाल स्वाधीन राष्ट्रका रूपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पु¥याउने पूर्वजहरूको योगदानको स्मरण गर्नुहुँदै राष्ट्रपतिले पूर्वजहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन हार्दिक आह्वान पनि गर्नुभएको छ ।
कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा आफ्नो अमूल्य जीवन गुमाउने सबै नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुुँदै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
साथै, उहाँले सङ्क्रमित बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘आजको यस ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’