१५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज (बिहीबार) सङ्घीय संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसदकाे संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ ।

अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई सूचित गरिसकेको छ । दिउँसो ३ः४५ मा बैठक कक्षमा प्रवेश गरिसक्न पनि सचिवालयले आग्रह गरेको छ ।

सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

सरकारले योपटक कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई केन्द्रित गरी आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ५० अर्ब हाराहारीमा ल्याउने अर्थमन्त्रालयले अन्तिम तयारी गरेको छ ।

जेटले स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा बिशेष प्राथमिकता दिने भएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रको पूर्वाधारमा जोड, पर्यटन क्षेत्रमा बिशेष कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता र बेरोजगार श्रमिक मजदुरलाई बिशेष कार्यक्रमलाई मूल प्राथमिकतामा राखेर बजेट तयारी गरिएको छ ।

रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप बदल्ने यसअघि नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको छ ।

बजेटमा नयाँ महत्वाकांक्षी र ठूला आयोजनाहरु समावेश नगरिने भए पनि पूराना, सम्पन्न हुन बाँकी रहेको बिकास आयोजनाहरुलाई भने निरन्तरता दिने भएको छ ।

सरकारको अनाश्यक र फर्जुल खर्च घटाउन सबैतिरबाट आएको दवावका कारण आगामी बजेटमा संसद विकास कोषको रकम कटौती र अनावश्यक खर्च समेत घटाउने तयारी गरिएको छ ।

जेठ १८ बाट बजेटको सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ । दुई दिन सैद्धान्तिक छलफल गराउने तयारी छ । लगत्तै प्रचलित कार्यविधिलाई छोट्याएर जेठ २१ वा २२ गतेबाट मन्त्रालयगत छलफल सुरु गर्ने तयारी छ । ढिलामा पनि जेठ २६ गतेसम्म विनियोजन पारित गर्ने तयारी सचिवालयको छ ।

LIVE TV