१४ जेष्ठ २०७७, बुधबार

काठमाडौं, १४ जेठ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा विवादमा तानिएका छन् । एक अनलाइनसँगको अन्र्तवार्ताका क्रममा अध्यक्ष शेर्पाले तराई मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरुलाई राष्ट्रियता सिकाउन जरुरी रहेको भन्ने अभिव्यक्ति दिएका थिए ।

तराईमा सुरु गरिएको ग्रासरुट फुटबलले राष्ट्रियता बलियो हुने आशयको अभिव्यक्ति उनले दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर बुधबारको प्रतिनिधि सभाको बैठकमा नै अध्यक्ष शेर्पालाई कारबाही गर्नुपर्ने आवाज उठेको छ ।

जनता समाज पार्टी नेपालका सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताउँदै उनलाई कारबाही गर्न माग गरेका छन् । यता, अध्यक्ष शेर्पाले आफ्नो पुरै भिडियो हेरेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

भिडियोलाई काँटछाँट गरेर गलत तरिकाले प्रचार गर्न खोजिएको उनको दावी छ । साथै मधेशको राष्ट्रियताको सवालमा कहिल्यै प्रश्न नगरेको भन्दै आफुले राष्ट्रियताको भावना बलियो बनाउन निरन्तर लागिरहेको उल्लेख गरे । तर, फुटबलको जिम्मेवार व्यक्तिबाट गैर जिम्मेवार अभिव्यक्ति भएको भन्दै शेर्पाको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV