१४ जेष्ठ २०७७, बुधबार
  • भगतराम थारु,

नेपालगञ्ज, १४ जेठ । बाँकेमा नयाँ प्रमुख जिल्ला अधिकारी आएकै दिनदेखि निषेधाज्ञा घोषणा भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेले एक विज्ञप्ती जारी गरी बाँके जिल्लामा अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सिडिओ रामबहादुर कुरुम्वाङ बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारीकोरुपमा हाजिर हुनु भएको हो ।

हाजिर भएकै दिन बुधवार साँझ सारोकारवाला निकायसंगको छलफल पश्चात बाँके जिल्लाभर निषेधाज्ञा जारी गरे मात्र कोरोना भाइरस कोभिड १९ नियन्त्रण सम्भव भएको भन्दै निषेधाज्ञा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना भाइरसबाट बाँके जिल्लामा हालसम्म १ सय ५४ जनामा संक्रमित देखिएका छन् । संक्रमणबाट एक जनाको मृत्यु समेत भएको छ । संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको विज्ञप्तीमा उल्लेख छ ।

बाँके जिल्ला भरि आज बुधबार राति १० बजेदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि अत्यावश्यक सेवाहरु जस्तै भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र, सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानी, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषि तथा कृषि पशुपंक्षीजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु अर्को आदेश जारी नभएसम्मका लागि सञ्चालन नगर्न नगराउन आदेश जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उक्त आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत विज्ञप्तीमा सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV