१४ जेष्ठ २०७७, बुधबार
  • तारा आचार्य,

विराटनगर, १४ जेठ । प्रदेश नं. १ को छैटौं तथा बजेट अधिवेशन बुधवारदेखि प्रदेश राजधानी विराटनगरस्थित प्रदेश सभा भवनमा शुरु भएको छ ।

प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सहितको पूर्व बजेट प्रस्ताव टेबुल गर्नुभयो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट आउनु अघि प्रदेश सांसदहरुको सुझाव समेत संकलन गर्ने उद्देश्यले पूर्व बजेट छलफल शुरु गरिएको हो ।

मन्त्री आङ्बोले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नु अघि प्रदेश सभामा रहेका ५ वटै दलका संसदीय दलका नेताहरुले कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनले पारेको प्रभावबाट जुध्न एकीकृत र योजनाबद्ध बजेट आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँहरुले आउदो बजेटमा स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो । कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिन यसपटक प्रदेश सभा बैठकका लागि दुई वटा हल प्रयोग गरिएको थियो ।

प्रदेश सभा बैठकमा सहभागि हुन प्रदेश सांसद, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको अनिवार्य पिसिआर टेष्ट गरिएको थियो । प्रदेश सभामा प्रवेश गर्नु अघि सवैको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रदेश १ मा आगामी बजेट कोरोना रोकथाम र नियन्त्रणमा आधारित हुनुपर्ने र शिक्षा स्वास्थ्य र कृषिमा आधारित हुनु पर्ने संसद सदस्यहरुको भनाइ छ । जनताको स्वास्थ्यको सुरक्षा गर्ने साथै खाद्यान्नमा लगानी गर्नुपर्ने बजेट हुनु पर्ने उनीहरुको धारणा छ ।

प्रदेश सभाको अर्को बैठक भोलि जेठ १५ गते ११ बजे सम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV