१४ जेष्ठ २०७७, बुधबार

काठमाडौं, १४ जेठ । संघीय संसद प्रतिनिधिसभाको बुधबार (आज)को बैठकमा संविधान संसोधन प्रस्ताव पेस नहुने जानकारी गराइएको छ । संसद सचवालयले आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम हटाइएको जानकारी गराएको हो ।

आजको प्रतिनिधिसभा बैठकका लागि निकालिएको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्न कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो । तर, बुधबारको कार्यसूचीबाट भने उक्त प्रस्ताव हटाइएको जानकारी गराइएको छ ।

उक्त प्रस्ताव किन हटाइयो ? भन्ने विषयमा केही जानकारी गराइएको छैन । हिजो (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सबै दलहरूबीच सहमति गर्नका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।

जहाँ राजपा र समाजवादीले संविधान संशोधनमा आफ्ना माग पनि सम्बोधन हुनुपर्ने बताएका थिए, भने नेपाली कांग्रेसले तत्काल निर्णय गर्न नसकिने बताएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रियतासँग जोडिएको संविधान संशोधनको विषयमा अन्य मुद्दा नजोड्न आग्रह समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV