१३ जेष्ठ २०७७, मंगलवार

काठमाडौं, १३ जेठ । स्वस्थानी ब्रतकथामा नवराज पात्रलाई हात्तीले माला लगाइदिएपछि लावण्य देशका राजा बने । देशसंगै उनले कलकलाउदी राजकुमारी पनि पाए, त्यो कथाका पात्र नवराज भट्ट अर्थात ब्राम्हण थिए ।

तर, अहिलेका नवराजहरु कथित तल्लो जातको हुँदा आफ्नो सपनाकी राजकुमारी त के सहजै मृत्यु स्वीकार्नु पर्ने अवस्थामा छन् । लेखिएका र देखिएका कथाहरु नै हाम्रा समाजमा कति फरक छन् उहिलेदेखि अहिलेसम्म ।

जतिसुकै सु–संस्कृत हुँदै गएको भनिए पनि केही घटनाले विद्यमान समाजको ‘कुरुप’ चरित्र उतार्छ । र, त्यसबेला चेतनशिल भनिने प्राणी, मान्छेप्रति नै घृणा ओकल्छ त्यही समाज ।

कुनै बेला श्रमका आधारमा गरिएको ‘कार्यविभाजन’ पछि मान्छेले मान्छेमाथि गर्ने विभेदको कारण बन्दा वा अझै बनिरहँदा समाजमा कहिले काहीँ यस्ता घटना हुन्छन्, जसलाई समाजले छिछि–दूरदूर गर्छ ।

पश्चिम रुकुमको चौरजहारीमा शनिवार भएको घटना यो व्यवस्था, हामीले खोजेको समाज र परिवर्तित भनिएको हाम्रै चेतानामाथिको प्रहार हो । जति निन्दा गरे पनि कम हुने सो आततायी र क्रुर घटनाले पुरातन वर्ण व्यवस्थाले थोपरिदिएको विकृतिविरुद्ध व्यवहारिक रुपान्तरणमा जोड दिएको छ ।

दलित सांसदको घटनाअनुसार जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी सपना मल्ल (परिवर्तित नाम) तीन वर्षदेखि प्रेममा थिए ।

नवराज र सपनाले अमिल्दो जातका बीच प्रेमलाई वैवाहिक जीवनमा रुपान्तरण गर्ने संकल्प गर्दा तगारो बनिदियो, सपनाको परिवार । दलितसँगको प्रेमकै कारण परिवारले अवहेलना गरेको भन्दै सपनाले नवराजलाई भगाउन आग्रह गरेकी थिइन यसअघि पनि ।

सपनालाई लिन चौरजहारी पुगेका नवराजलाई सपनाको परिवारले प्रहरीको जिम्मा लगाइदिएका थिए । प्रहरीले उमेर पुगेपछि विवाह गर्नु भन्ने सल्लाहका साथ छोड्दियो । सपनाकै आग्रहअनुसार प्रेमीकालाई ‘दुलही’ बनाउने लक्ष्यका साथ १८ जना साथी लिएर नबराज शनिवार चौरजहारी पुगे ।

छोरी भगाउन आएको थाहा पाएपछि ‘आज त तँ कामीलाई मारेर फाल्ने हो’ भन्दै सपनाकी आमाले गाउँमा हारगुहार गरिन् । र, सिंगो गाउँ नै नबराज र सपनाको पवित्र प्रेमविरुद्ध उत्रिदा वर्गीय र जातीय समानताका लागि सुरुआती ‘बन्दुक’ उठाएको पश्मिच रुमुकले विगतप्रति नै लज्जित हुनुपर्ने घटना व्यहो¥यो ।

दुलही लिन साँझ ५ बजेतिर चौरजहारीको सोती पुगेको नवराजको टोलीलाई गाउँलेले धेरा हालेर आक्रमण गरे । भागाभाग भयो । केहीलाई गाउँलेले नियन्त्रणमा लिए ।

ज्यान बचाउन भेरी नदीमा हाम फालेकामध्ये ५ जना नदी तरेर जाजरकोट पुगे, ६ बेपत्ता भए । जसमध्ये नबराज, चौरजहारी नगरपालिकाकै टीकाराम नेपाली र भेरी नगरपालिका–४ का गणेश बुढामगरको शव भेरी नदीमा भेटियो ।

दावी गरिएअनुसार नियन्त्रणमा लिएर स्थानीयले निर्मम तवरबाट कुट्दा ज्यान गएपछि नबराजको शब नदीमा फालिएको थियो । नदीमा हेलिएका अन्य ३ जनाको अवस्था अझै अज्ञात छ ।

यो अमानवीय र क्रुर घटनामा अगुवाई गरेको भन्दै प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, सपना र उनका परिवारसहित केही गाउँलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुकुम प्रहरी कथित तल्लो र माथिल्लो जातको प्रेम संघर्षमा ज्यानै गुमाउने पछिल्लो युवा हुन् नवराज विक । यसअघि २०७३ असारमा काभ्रे, पाँचखालका अजित मिजार, २०६८ भदौमा दैलेखका सेते दमाई र २०६८ कै माघमा सप्तरी पन्सेराका शिवशंकर दासले अन्तरजातीय प्रेमकै कारण ज्यान गुमाउनु परेको थियो ।

प्रेम वैवाहिक जीवनमा रुपान्तरण नहुने भएपछि २०७३ माघमा झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले एउटै पासो लगाएका थिए भने तनहुँकी संगीता परियारले पनि गैरदलित प्रेमविवाहकै कारण ज्यान गुमाएकी थिइन् ।

कानूनले नै जातीय आधारमा छुवाछूतलाई दण्डनीय अपराध मानेको ५७ वर्ष भयो । संसदले मुलुकलाई व्यवहारिक रुपमा छुवाछुतमुक्त घोषणा गरेको पनि १४ वर्ष भयो । तर, जनप्रतिनिधिकै आड–भरोसामा अन्तरजातीय प्रेमकै कारण कलकलाउँदा नबराजहरु मरिने क्रम रोकिएको छैन ।

के हामीले ल्याएको व्यवस्था र बनाउन खोजेको समाजमा नवराज र सपनाहरुको प्रेम बस्न, फुल्न र फक्रन पाउँदैन ? पाउँछ भने कहाँ छ राज्य, समाज र त्यसका अवयवहरु ?

प्रतिक्रिया दिनुहोस्
LIVE TV