१३ जेष्ठ २०७७, मंगलवार
  • तारा आचार्य,

विराटनगर, १३ जेठ । प्रदेश नं. १ को बजेट अधिवेशन भोलि जेठ १४ गते बुधबारदेखि सुरु हुदैछ ।

कोरोना भाईरसको संक्रमणबाट प्रदेश बजेट अधिवेशनलाई प्रभावित हुनबाट जोगाउन प्रदेश सभाका सांसदहरु, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुको स्वाब परीक्षण गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभाको बैठकमा प्रवेश गर्न कोरोना संक्रमण नभएको प्रमाण अनिबार्य गरिएको छ । कोरोना जोखिम बढेकोले कोरोना परीक्षण नगराएको कसैलाई पनि प्रदेश सभा भवन भित्र प्रवेश निषेध गरिएको छ ।

प्रदेश सभाको बैठकमा सहभागी हुने ९१ सांसद, २ सय प्रदेशसभा सचिवालयका कर्मचारीहरु, साथै २० भन्दा बढी सांसदका चालकहरु ,सुरक्षाकर्मीहरु र संसदीय रिपोर्टिङमा खटिने २० जना पत्रकारहरुको स्वाब टेष्ट गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

प्रदेश १ को बजेट अधिवेशन १४ गते २ बजेलाई आवहान गरिएको छ । कोरोना संक्रमणका कारण बजेट अधिवेशनलाई छोटो बनाउन आग्रह गरिएको र अत्यावश्यक विधेयकहरु बाहेक बजेट मात्र पास गराउने तयारी भईरहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश सभामा बजेट अधिवेशको लागि दुइवटा हलबाट बैठक सञ्चालन गरिने सचिवालयले जानकारी दिएको छ । हल साँघुरो हुने भएकाले कोरोना भाईरसको जोखिमबाट बच्न प्रदेश सभाको बैठक हल पनि पुनर्निर्माण गरिएको छ भने सामाजिक दूरी कायम हुने गरी पुराना कुर्सी हटाएर नयाँ कुुर्सी राखिएको छ ।

यो बैठक हलमा करिब ६० जना सांसदहरु मात्र बस्न सक्नेछन् भने बाँकी सांसदहरुका लागि नेकपा संसदीय दलको कार्यालयमा ३३ जना सांसदहरुलाई राखेर भिडियो कन्फरेन्सिङ मार्फत बैठक संग जोड्ने तयारी गरिएको छ ।

बजेट अधिवेशनमा सहभागी हुने सवैले अनिवार्य माक्स लगाउनु पर्नेछ । प्रदेशसभाको बैठक स्क्रिनमा लाइभ हेर्ने समेत प्रबन्ध मिलाइएको छ भने पहिलो सभा हल भित्र ६५ वटा माथिल्लो तलामा ३० वटा कुर्सीहरु राखेर प्रवन्ध मिलाइएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV