१३ जेष्ठ २०७७, मंगलवार
  • बालबिक्रम कार्की

रौतहट, १३ जेठ । स्थानीय प्रशासनले रौतहटको दुई नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाको ईशनाथ तथा राजपुर नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

सो नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको र स्थानीयले लकडाउन उल्लंघन गर्ने क्रम अत्यधिक बढेकाले अर्को आदेश नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले दुबै नगरपालिकालाई पूर्ण रूपमा सिल गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो । ‘ती नगरपालिकामा संक्रमित बढेका छन् र संक्रमणको जोखिम पनि अत्याधिक रहेको छ उहाँले भन्नुभयो, तर पनि मानिसहरूको आवागमन नरोकिएकाले हामीले निषेधाज्ञा जारी गरेका हौँ ।’

उहाँले निषेधाज्ञा उल्लंघन गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिनुभयो । अहिले ती दुबै नगरपालिकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV