१३ जेष्ठ २०७७, मंगलवार

काठमाडौं, १२ जेठ । नेपालमा द कोकाकोला फाउनडेशन र क्रिएशनको संयुक्त पहलमा सरसफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको घोषणा गरेको छ ।

यस परियोजनाको मुख्य लक्ष्य जोखिममा रहेका सरसफाईकर्मीहरु र उनीहरूका परिवारहरूलाई कोरोना भाइरसको नकारात्मक असरबाट बचाउनु र सुरक्षा तथा राहत सामग्रीहरू प्रदान गर्नु हो ।

यो परियोजना द कोकाकोला फाउन्डेशनको कोभिड–१९ विरूद्ध लड्नका लागि रु ८ करोड सहयोग गर्ने प्रारम्भिक प्रतिबद्धताको एक हिस्सा भएको जानकारी गराइएको छ ।

यस परियोजनाको पहिलो कार्यक्रम जेठ २ गते काठमाडौंको बुढानिलकण्ठस्थित वुमन फर ह्यूमन राइटसमा आयोजना गरिएको थियो । जहाँ १५० सरसफाईकर्मीहरुलाई सुरक्षा सम्बन्धी जागरूकताका साथ राहत सामग्री वितरण गरिएको थियो ।

हालसम्म चार स्थानमा राहत कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन भइसकेका र उक्त कार्यक्रमहरुबाट ४०३ सरसफाईकर्मीहरू प्रत्यक्ष रुपमा लाभान्वित भएका जानकारी गराइएको छ ।

उक्त कार्यक्रम पाँच जनाको परिवारलाई एक महिनासम्म पुग्ने खाद्यान्न राहत प्याकेज र महिलाहरूको लागि डिग्निटी किट प्रदान गरिएको थियो । त्यस्तै प्राथमिक आवश्यकता सुनिश्चित गर्न र उनीहरूको स्वास्थ्य सुरक्षाको लागि वातावरणमैत्री र पुनः प्रयोग योग्य सेनेटरी प्याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू जस्तै साबुन, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको थियो ।

यसै क्रममा जेठ २६ गतेको राहत कार्यक्रममा १०० जना सरसफाईकर्मीहरुलाई रक्षात्मक गाउन र सुरक्षा सामग्रीहरू प्रदान गरिने जानकारी गराइएको छ । सोही कार्यक्रम काठमाडौंका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा सम्पन्न हुने बेहोरा परियोजना अधिकृत सुजाता कोइरालाले जानकारी दिएकी छन् ।

क्रिएशनको पहलमा गरिएको यस परियोजनामा वुमन फर ह्युमन राइट, डोको रिसाईकलर्स, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभले आ–आफ्नो सन्जालमा रहेका सफाइकर्मीहरुलाई राहत वितरण गराएर यस परियोजनाको पहुँचलाई व्यापक बनाउन मदत गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV