१२ जेष्ठ २०७७, सोमबार
  • तारा आचार्य,

विराटनगर, १२ जेठ । खुल्ला सीमानाबाट नेपालीहरु लुकिछिपी आउन थालेपछि मोरङ प्रहरीले भारतसंग जोडिएका सीमाहरुमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

मोरङ प्रहरी र सशस्त्र प्रहरी बल ३ नं. गण कंकालिनी मोरङले मोरङको सीमा क्षेत्रमा संयुक्तरुपमा १ सय ७ वटा चेकपोस्ट स्थापना गरी २४ घण्टा सीमा गस्ती बढाइएको छ भने सीमानामा कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।

चोरबाटो भएर भने नेपालीहरु प्रवेश गरेका छन् । कोरोना भाईरसको संक्रमणबाट जोगिन सीमानाका बन्द गरिएको अवस्थामा खुला सीमाको फाइदा उठाउदै हुन सक्ने आवतजावत रोक्न पिकेट टोली साथै हाइप्वाइन्टको स्थापना गरेर सुरक्षालाई मजवुद बनाइएको मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो ।

उहाँले सुरक्षा व्यवस्था कडाइ गर्नका लागि प्रत्येक पिकेट टोलीमा ७ जनाको टोली खटाइएको र हाइप्वाइन्ट साथै सीमा क्षेत्रमा टेण्ट समेत राखिएको जानकारी दिनभयो । विश्व नै कोरोना भाइरसको संक्रमणमा परेको बेला लकडाउनको पालना गर्न सबैलाइ आग्रह गर्दै मोरङ प्रहरीले थप कडाइ गरेको जानकारी दिएको छ ।

लकडाउनको समयमा सीमा सुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिएको र अन्य दरबन्दी भएका प्रहरीहरुलाई पनि सीमानामा ल्याएको र सुरक्षाकर्मीहरुलाई सीमानामा लगेर सीमा व्यवस्थित गरेको र आगामी दिनहरुमा सुरक्षा व्यवस्था अझ कडा बनाएर लैजाने प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनु भयो ।

लकडाउनको समयमा भारतबाट आएर सीमानामा अलपत्र परेका २ सय २४ जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ भने १ सय ७३ जना लुकिछिपी चोर बाटोबाट प्रवेश गरेका छन् ।

भारत तर्फको सीमानामा रहेको क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई ल्याउनको लागि प्रदेश सरकारले प्रयास थालेको छ ।

भारतसंग सीमा जोडिएको मोरङको करिब ६३ किलोमिटर खुला सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८ सय सुरक्षाकर्मीहरु खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV