१२ जेष्ठ २०७७, सोमबार

एजेन्सी, १२ जेठ । भारतका अधिकांश स्थानका मस्जिदहरु आज बन्द छ । कोरोना भाइरस रोकथाम गर्नका लागि लगाइएको लकडाउनको कारण मुस्लिम समुदायका नागरिकको ठूलो पर्व इद उल फित्रका दिन नयाँ दिल्लीलगायतका भारतका अधिकांश स्थानका मस्जिदहरु बन्द गरिएको हो ।

बढ्दो कोरोना भाइरसको प्रकोपका कारण भारतले गएको दुई महिना भन्दा लामो समयदेखि लकडाउन गरेको छ । लकडाउनका कारण तथा यस प्रकोपको बढ्दो संक्रमणका कारण त्यहाँका मुस्लिम समुदायका नागरिकहरु आज मस्जिदमा भेला नभएका जनाइएको छ ।

नयाँ दिल्लीको सबैभन्दा ठूलो फेताहपुरी मस्जिद आज लकडाउनको पालना गर्दै बन्द गरिएको छ । यसअघिका इदको समयमा हजारौँको भीड लाग्ने गरेको यस मस्जिदमा आज कोही पनि उपस्थित नभएका बताइएको छ।

इस्लामिक धर्मावलम्बीहरुले एक महिनाको रमजान ब्रतपछि आज इद उल फित्रको दिनमा उक्त ब्रतको समापन गर्ने गर्दछन् । यस दिन विश्वका मुस्लिम समुदायका नागरिकहरु मस्जिदमा जम्मा भएर इद मनाउने गर्दछन् । तर आज भारतका प्रायः सबैजसो मस्जिदहरु बन्द रहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV