१२ जेष्ठ २०७७, सोमबार
  • इरफान अली

वीरगंज, १२ जेठ । विश्वमा फैलिएको महामारी कोरोना भाइरसका कारण आज मुस्लिम समुदायको महान पर्व ईद फित्र प्रभावित बन्न पुगेको छ ।

कोरोना भाईरस संक्रमणकै कारण नेपाल सरकारले ०७६ साल चैत्र ११ गते देखि लकडाउन लगाएको छ । यसले गर्दा शैक्षिक संस्था, मठ-मन्दिर, मस्जिदलगायतका धार्मिक स्थल र बजार, कलकारखानाहरु समेत सब खुल्न सकेका छैनन् । यस्ताे वेला चाडपर्वहरूकाे समेत राैनक छैन । सधैँ प्रार्थना भइरहने र इदकाे बेला भरिभराउ हुने मस्जिदहरू सुनसान छन् ।

मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व ईद हो, ईदको तयारी एक महिना अगाडि अर्थात रोजा (वर्त) बसेर गरीन्छ । रमजान महिना मुस्लिमहरुको सबै भन्दा पवित्र महिना हो । जहाँ एक महिना व्रत बसिन्छ, करिब बिहान ३ बजेभन्दा अगाडि खाना खाइन्छ र दिनभरि बेलुका ७ बजेसम्म केही नखाई व्रत बसिन्छ । रमजान महिनामा मिठो मिठो परिकार पकाइन्छ र घरवरपर रहेका गरिब दिनदुखीलाई समेत मिठा मिठा खानेकुरा दिईने चलन रहेको छ ।

तर यो वर्ष कोरोना भाइरस महामारीका कारण पहिलाको जस्ताे रौनक छैन । आफन्तहरु पनि आफ्नो-आफ्नै ठाउँमा लकडाउनमा रहेका छन् । यो वर्षको इदमा परिवार सबै कोही कता, कोही कता छन् । ईदको उत्साह थोरै पनि छैन । सायद यो जीवनकै पहिलो खल्लो र नरमाइलो ईद हुनेछ, नत्र विगतमा जस्तासुकै संकटमा पनि यसरी राैनक ठप्पै भएकाे थिएन । यसपटक भने कसैको मनमा खुसी नदेखिएकाे पर्साका स्थानीय मुस्लिम समुदायका अगुवाहरु बताउँछन् ।

इद पर्वको अवसरमा मुस्लिम समुदायका हुने खाने सबैले नयाँ कपडा लगाउने गर्थे र नहुनेलाइ दान दिन्थे । यो वर्ष भने नयाँ कपडा किनिएकाे छैन, गरिब वा धनी सबैले समान रुपमा कपडा लगाउने छन् । यसपालि हात र अँगालो मिलाएर होइन, टाढै रहेर केवल दिलबाट आशीष दिइनेछ ।

यस पटक नमाज पनि मस्जिदमा भेला भएर हैन, घरमै पढिँदै छ । यो वर्ष भेटेर होइन, सामाजिक सञ्जालबाट कुराकानी र शुभकामना आदानप्रदान गरिँदै छ । आफ्नै घरमा बनाएको सेवई (इदको दिन खाने परिकार) बनाएर रमाइलाे गरिँदै छ । सीमित चिजबाट सीमित घेरामा मनाइने यो वर्षकाे ईदको सम्झना जीवनभरि रहने मुस्लिम अगुवाहरूकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV