१२ जेष्ठ २०७७, सोमबार

काठमाडौं, ११ जेठ । काठमाडौँ महानगरपालिका वडा नम्वर–१६ को कालधारा ठमेलक्षेत्र सिल गरिएको छ । कालधारा अगाडि बस्ने ६९ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण देखा परेपछि सिल गरिएको हो ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक राजकुमार भट्टले ठमेलबाट खुशिबु टाउनप्लानिङ निस्कने कालधारा मार्ग सिल गरिएको बताउनुभयो । सङ्क्रमित व्यक्ति दुई महिनाअघि अष्ट्रेलियाबाट आएका थिए ।

उहाँको श्रीमतीमा भने सङ्क्रमण देखिएको छैन । वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परीक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमतीमध्ये ती पुरुषमा आइतबार कोरोना भाइरस सङ्क्रमण पोजिटिभ देखिएको हो ।

प्रहरी निरीक्षक भट्टले भन्नुभयो, ‘ती व्यक्ति चैतको पहिलो हप्ता अष्ट्रेलियाबाट खाडी मुलुक हुँदै नेपाल आएका रहेछन् । तर, कोरोना भाइरसको सङ्क्रमण भने यति बेला देखिएको छ । कोरोना भाइरस सङ्क्रमणको ‘ट्रेसिङ’ गर्ने कार्य भइरहेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV