११ जेष्ठ २०७७, आईतवार
  • भगतराम थारु,

नेपालगञ्ज, ११ जेठ । बाँकेको नरैनापुर गाउँपालिकामा आज रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । नरैनापुर चारै नाका सिल, लकडाउन कडाईले पनि असम्भव भएपछि नरैनापुर क्षेत्रलाई आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

आजदेखि लागू हुने गरि निषेधाज्ञामा नेपाली सेना समेत परिचालन गरिने छ । जसमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी पनि परिचालन गर्ने गरी त्यस क्षेत्रलाई सुरक्षा प्रदान गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिनुभयो ।

यसलाई निरन्तरता दिइने र अर्को सूचना लागू नहुन्जेलसम्म निषेधाज्ञा जारी रहने प्रजिअ खड्काले जानकारी गराउनुभयो । नरैनापुरतर्फ सेनाको टोली हिडिसकेको र राति ८ बजेदेखि निरन्तर सुरक्षामा खटिने जानकारी पनि उहाँले दिनुभयो ।

नरैनापुर गाउँपालिकामा मात्र १ सय १४ जना कोरोना संक्रमित छन् । जसमा एक जनाको मृत्यु भइसकेको छ । गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन् ।

स्थानीयहरुले बारम्बार दुःख दिने र सम्झाउदा पनि नमान्ने झन उल्टै प्रहरीमाथि जाइलाग्ने भएपछि सेना परिचालन गर्न बाध्य भएको प्रजिअ खड्काले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका स्थित रहेको भैरबप्रसाद गण राँझाका ४० जनाको टोली नरैनपुर क्षेत्रको सुरक्षामा खटिने प्रदेश सांसद कृष्ण केसी नमुनाले जानकारी दिनुभयो ।

सेनाको नेतृत्व मेजर सुरेश श्रेष्ठले गरिरहनु भएको छ । दैनिक संक्रमित संख्या बढेको भन्दै गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारसँग गुहार मागेको थियो ।

सम्भावित संक्रमितहरूलाई क्वारेन्टाइनको राम्रो व्यवस्था गर्न नसकेको, स्वास्थ्यकर्मीको अभाव रहेको र गाउँमा नकारात्मक हल्ला चलेको भन्दै गाउँपालिकाले सम्बन्धित माथिका निकायसँग सहयोग मागेको हो ।

सांसद केसीले प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेललाईसमेत जेठ ६ गते ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV