११ जेष्ठ २०७७, आईतवार
  • रिदम सिंह

बझाङ, ११ जेठ । साईपाल हिमालका नामले नामाकरण गरिएको जिल्लाको अति सुन्दर तर विकट साईपाल गाँउपालिकालाई प्लाष्टिक रहित गाँउपालिका घोषण गर्ने योजना अघि सारिएको छ ।

स्थानीय स्तरमा नै पाईने डोका डालाहरु र झोलाहरुको प्रयोग गरी गाँउपालिकालाई स्वच्छ तथा सफा राख्ने उदेश्यका साथ गाउँपालिका भरि अहिले सरसफाई योजना अघि सारिएको गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाको वडा नम्बर एक र दुईबाट अभियान सञ्चालन गरी पाँच वटै वडामा पुग्ने गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो । प्रत्येक घर र सार्वजजिक स्थलहरुमा स्थानीयहरुले उत्पादन गरेका डोकाहरु खरिद गरी राख्ने काम भइरहेको जानकारी पनि उहाँले दिनुभयो । हिड्ने बाटोमा समेत ठाँउ ठाँउ निगालोले बुनेका डोकाहरु झुण्ड्याउने काम गाँउपालिकाले सुरु गरेको छ ।

बाटोमा हिड्ने बटुवाहरुले समेत सुर्ति, पुकार, मेघाश्री लगायतमा सुर्तिजन्य पदार्थ तथा मादक पदार्थ सेवन गरी जथाभावि रुपमा चुरोट लगायतका ठुटाहरु फाल्ने भएका कारण यसको निरुत्साहनका लागि अहिले सरसफाई अभियान अघि सारिएको अध्यक्ष धामीले जानकारी दिनु भयो ।

कोरोनाका बारेमा सचेतना जोगाउदै सरसफाईसहित गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीको नेतृत्वमा यहाँका केही जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु नागरिकको घर दैलोमा नै पुगेर फोहोर उठाउदै सचेत गराउने काम भै रहेको स्थानीय बासिन्दा मिलन बोहराले बताउनु भयो ।

गाँउपालिकाले जथाभावि रुपमा फोहोर गर्नेहरुलाई समेत पहिलो चरणमा सम्झाउने र पछि जथाभावि फोहोर गरेको पाईएमा तथा गाँउपालिको निर्णयलाई अटेरी गरेको खण्डमा दण्ड तथा जरिवाना समेत गर्न सकिने जनाएको छ । स्थानीयहरुलाई गाँउपालिका भित्र प्लाष्टिक नल्याउन अनुरोध गर्दै यदी कोही कसैले प्लाष्टिक गाँउपालिका भित्र ल्याउको खण्डमा त्यसलाई पुनः प्रयोग गर्न र जथाभावि रुपमा नफाल्न अनुरोध समेत गाँउपालिकाले गरेको स्थानीयले बताएका छन् ।

प्लाष्टिक जन्य बस्तुहरु तथा शिशाका कारण वातावरणमा ठूलो असर पर्ने भन्दै गाँउपालिकाले यसको निरुत्साहन गर्न अहिलेदेखि नै विभिन्न सचेतनामुलक कार्यक्रमहरुसहित यसको निरुत्साहनका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV