११ जेष्ठ २०७७, आईतवार

काठमाडाैं, ११ जेठ । राष्ट्रिय सभाका सांसदले लगाउने ‘लोगो’ परिवर्तन हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

नेपालको नयाँ नक्सा मिलाउन लोगो परिवर्तन गर्न लागिएको हो । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताउनुभयाे ।

संघीय संसद्का दुवै सदनका सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । सांसदहरुले प्रयोग गर्ने लोगोमा नेपालको नक्सा र झण्डा रहेका छन् ।

यसअघि सरकारले नयाँ नक्साअनुसार नेपालको निसान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव संसद्‍मा दर्ता गराएको छ ।

यसैबीच राष्ट्रिय सभाको १२ गते सोमबारका लागि डाकिएको बैठक १३ गते सम्मका लागि स्थगित भएको छ । मुस्लिम समुदायको पर्व इदमा सार्वजनिक बिदा भएका कारण बैठक सारिएको हो ।

LIVE TV