११ जेष्ठ २०७७, आईतवार

काठमाडौं, ११ जेठ । जंगी अड्डाले भ्रष्ट सैनिक अधिकारीहरूमाथि कारबाही सुरु गरेको छ । जंगी अड्डाले सैनिक उच्चअधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो । जंगी अड्डाले भ्रष्टाचारका मुद्दाहरूलाई अघि बढाएर भ्रष्ट सैनिकहरूविरुद्ध जंगी अड्डा कडा रूपमा उत्रिएको हो । जंगी अड्डाले आर्थिक अनियमिततामा संलग्न भएको अभियोगमा सहायक रथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

सहायक रथी राणा निरीक्षणाधिकृत महानिर्देशनालयमा कार्यरत छन् । महासेनानी सिलवाल हाल १४ नम्बर बाहिनीका सहायक बाहिनीपति हुन् । सैनिक प्रहरीले राणा र सिलवाल दुवैलाई गत साता पक्राउ गरेको सैनिक स्रोतले पुष्टि गरेको छ । उनीहरू सैनिक प्रहरी हिरासतमा छन् । कुन शीर्षकका कति अनियमितता गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । आर्थिक अनियमितताको प्रमाणका आधारमा पक्राउ गरिएको सेनाले जनाएको छ ।

सहायक रथी राणा पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा रहँदा सैनिक अनुशासन उल्लंघन गरी आर्थिक अनियमिततामा संलग्न भएको स्रोतले जनाएको छ । महासेनानी सिलवालसमेत सोही प्रकरणमा आर्थिक अनियमिततामा मुछिएका हुन् । ‘अनियमिततामा संलग्न भएको आशंकामा ठूलो संख्यामा सैनिक अधिकारीहरूमाथि छानबिन भइरहेको छ,’ जंगी अड्डाका एक सैनिक उच्चअधिकारीले अन्नपूर्णसँग भने, ‘भ्रष्ट सैनिकलाई कारबाहीमात्र होइन, उनीहरूले भ्रष्टाचार गरेर कमाएको रकमसमेत फिर्ता गराउँछौं ।’ याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV