
काठमाडौं, १० जेठ । नेपाली सेनाका एक जर्नेल र एक कर्नेललाई आर्थिक अनियमितता गरेको अरोपमा सैनिक हिरासतमा लिइएको छ ।
सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई छानबिनको लागि सैनिक हिरासतमा लिइएको जानकारी गराइएको हो ।

प्रमाण नष्ट नहोस् र छानबिनमा सहज होस् भन्नका लागि उनीहरु दुवैलाई सैनिक हिरासतमा राखिएको जानकारी गराइएको छ ।
दुई वर्ष अगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र (संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ जानुअघि प्रशिक्षण गर्ने स्थान) काभ्रेको पाँचखालमा अनियमितता गरेको अरोपमा राणा र सिलवाललाई सैनिक हिरासतमा लिइएको हो । उक्त समयमा महासेनानी रहेका राणा तालिम केन्द्रका प्रमुख थिए । त्यस्तै सिलवालले भने उनका मातहतमा काम गर्ने गर्थे ।
अहिले यो विषयमा सैनिक ऐन–२०६३ अनुसार उपरथीको नेतृत्वमा कोर्ट अफ् इन्क्वायरी गठन गरी छानबिन भइरहेको जनाइएको छ । उनीहरुको छानबिन अन्तिम चरणमा पुगेको र केही दिनमा सैनिक समरी अदालतले फैसला गर्ने पनि जनाइएको छ ।
राणा र सिलवाललाई जेठ ८ गते देखि सुन्धरास्थित राष्ट्रिय सेवा दलस्थित कार्यालय परिसरमा हिरासतमा राखिएको छ । यसै विषयमा अन्य १२ जना अधिकृतहरुसँग पनि बयान लिएको र १ जना सुवेदार मेजरलाई पनि थुनामा राखिएको जानकारी गराइएको छ ।
शुक्रबार मात्रै पनि सेनाले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा आर्थिक अनियमितता गरेको ठहर भएपछि महासेनानी भुपालमान अधिकारीसहित तीन सैनिक अधिकृत र दुई अन्य दर्जालाई कारबाही गरेको थियो ।