१० जेष्ठ २०७७, शनिबार
  • हरिप्रसाद सिलवाल

प्रिय भमरा !
सम्बोधन जतिसुकै मिठो होस्,
प्रियामृतविनाको श्रेय चाहिएन मलाई !

कारणको छाप लगाएर आरोप बोल्दैछु–
तिमी मलाई मन पराउँछौ
तर माया गर्दैनौ भमरा !
तिमी मलाई माया गर्छौ
तर मन पराउँदैनौ भमरा !
माया गर्दा मन पराउन नसक्ने ?
मन पराउँदा माया गर्न नसक्ने ??

यही हो
तिम्रो फूलसितको अघोर नाटक !

पानी पिउँदा ‘थुक ननिल’ भन्ने
थुक निल्दा ‘पानी ननिल’ भन्ने !
कस्तो प्रेमिल भाषा हो भमरा तिम्रो ?

तिम्रो मनपराइमा फूलको तेजोबध किन लुकाउँछौ भमरा ?
तिमी कागजको हृदयमा बाँच्छौ कि,
तिमी नाटकको विस्मयमा रुन्छौ कि,
तिमी फूलको भाउ तौलिन खोज्छौ कि,
तिमीमाथि शंकाहरू तेर्सिएका छन्–
के तिमी फूलका शासक हौ ?
के तिमी विभेदका उपासक हौ ?
के तिमी रङ चुसेर मोटाउने माली हौ ?

म त सबैको पेट भर्ने बाली चाहन्छु !
म त उद्यान गोड्ने माली चाहन्छु !
के तिमी माली र बालीलाई खेद गर्दैछौ ?
के तिमी काखा र पाखालाई भेद गर्दैछौ ?
के तिमी भ्रमको भाङ छर्ने भमरा बन्दैछौ ?
तिम्रो बोलीमा फूलमारा गोली नदेखिएको हो र,
तिम्रो भ्रमणमा नौटङ्की नाच नभेटिएको हो र,
भमरा ! तिम्रो रूपको अनुसन्धान जरुरी छ ।

फूलमा छर्कने हजारीका टुटीहरु आफैतिर सोझ्याउनु
रङहरूलाई रङहरूबाट अलग्याउनु
के तिमी सिर्फ भेदनीतिका शासकजस्तै बन्दै छैनौ भमरा ?
दुर्मनीय निरन्तरता तत्काल अस्वीकार्य छ–
तिम्रा नाटकहरू बन्द गर भमरा !!

[email protected]

प्रतिक्रिया दिनुहोस्
LIVE TV