९ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, ९ जेठ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्ष सम्पन्न शहीद स्मारक ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालको उपस्थितिमा एन्फाले करिव ३ महिनापछि लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनले खेलाडीहरु लिगको दौरान घाइते हुनुको मुख्य कारण आरामको कमी भएको देखाएको छ । खेलाडीले एकपछि अर्को म्याच खेल्नु परेका कारण उनीहरु घाइते हुने गरेको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै क्लबहरुले दक्ष चिकित्सकको प्रवन्ध गर्न नसक्नु, सन्तुलित पोषणको कमी र मैदानको खराब अवस्थाका कारण खेलाडीले इन्ज्युरीको सामना गर्नु परेको रिपोर्टमा उल्लेख गरेको छ । लिगको समयमा खेलाडीले विषेश गरी गोलिगाँठा, घुँडा, ग्राइन लगायत एघार प्रकारका इन्ज्युरी भोगेका थिए ।

त्यस्तै प्रतिवेदनमा लिगको विजेताको नाम, सहभागी क्लब, लिगमा भएका सबै गतिविधि, खेलाडीको नामावली, पहेलो कार्ड, रातो कार्ड लगायतको जानकारी रहेको एन्फाले जनाएको छ । गत वर्ष फागुनमा सम्पन्न लिगको उपाधि पहिलो पटक मछिन्द्र फुटबल क्लबले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV