९ जेष्ठ २०७७, शुक्रबार
  • विवेक राई,

भोजपुर, ९ जेठ । अनाधिकृत रुपमा बेचविखन गरिएपछि रासायनिक मल सिल गरिएको छ । तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई अनाधिकृत रुपमा मल विक्रि गरेको भन्दै जिल्ला प्रशासनले मल सिल गरेको हो ।

गत बुधबार अरुण गाउँपालिका ६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा अनाधिकृत रुपमा रासायनिक युरिया मल बिक्री भईरहेको कुरा खुलेको हो । प्रतिबोरा ७ सय ८५ मूल्य पर्ने यूरिया मल २ हजारमा बेचविखन भएको थाहा पाएपछि जिल्ला प्रशासनले मल पसल सिल गरेको हो ।

भुजेलको स्टोरबाट ४७ बोरा मल सिल गरिएपनि कहाँबाट आएको भन्ने खुल्न नसकेको बताईएको छ । अनाधिकृत खरिद गरेर महंगोमा किसानलाई बेचेको कुरा खुलेपछि बाँकी मल समेत जफत गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले न्यूज २४ लाई बताउनुभयो ।

प्रहरी टोलीले अनाधिकृत रुपमा ल्याईएको ६० बोरा मलमध्ये २० बोरा मल बेचिसकेकाले बाँकी मल मात्र सिल गर्न सकिएको प्रहरी चौकी जरायोटारका इन्चार्ज भलबहादुर राईले बताउनुभयो ।

वास्तविक मूल्यभन्दा १४ सय बढीले बेचिएको उक्त मल कहाँबाट ल्याईएको विषयमा अनुसन्धान भईरहेको पनि उहाँले बताउनुभयो । हुलाकका कर्मचारी समेत रहेका भुजेलले ईन्जिनमा समस्या आएपछि रोकिएको ट्रकले मल बोकेको पाएपछि आफुले प्रतिबोरा १८ सयले खरिद गरेर राखेको बताएका छन् ।

उनले अगाडि भने ‘विग्रिएर थन्किएको ट्रकका चालकलाई खाद्यान्न सामग्री होकी भनेर सोध्दा मल बोकेको भनेपछि मलाई बेचे, अनि स्टोर गरेँ’ स्थानीयबासीले मल नपाएको गुनासो बढेकाले प्रतिबोरा १८ सय तिरेर २ हजारले बेचेको भुजेलले स्वीकारे । ट्रक चालकले मल बेच्ने वितिक्कै फर्केपछि कहाँबाट ल्याईएको थाहा नभएको उनले बताए ।

सिल गरिएको मलमा जनप्रतिनिधिको चासो

प्रहरीले मल सिल गरेको थाहा पाएपछि स्थानीय जनप्रतिनिधिको पनि चासो बढेको छ । सिल गरिएको मलका विषयमा गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्की, उपाध्यक्ष विनिता ढकाल, चरम्बीका वडाध्यक्ष ज्ञानेन्द्र दाहाल, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटासहितको अनौपचारिक छलफल चलेको बताईएको छ ।

सिल गरिएको मल किसानलाई आवश्यक परेको खण्डमा प्रतिबोरा एक हजारमा विक्री गर्न दिने निर्णय भएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनुभयो । तर प्रशासनले सिल गरेको मलबारे थप अनुसन्धान हुन बाँकी रहेकाले कुनै निर्णय नलिन भनेपछि यथावत राखिएको पनि ढकालको भनाइ छ ।

गैरकानुनी रुपमा मल बेचिएको ठहरेमा आफुहरुको कुनै हस्तक्षेप नहुने ढकालले बताउनुभयो । यता वडाध्यक्ष दाहालले खेतीको सिजनमा कृषकलाई मल अभाव भईरहेकाबेला उक्त सिल गरिएको मल नै सहजीकरणको विकल्प खोजिएको बताएका छन् ।

(नेकपा) अरुणको आरोपः ‘कालोबजारीमा जनप्रतिनिधिकै संलग्नता छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अरुण गाउँपार्टीले मलको कालोबजारीमा जनप्रतिनिधिकै हात रहेको आरोप लगाएको छ । गाउँपार्टीले संकटकाबेला किसानलाई ठगी गर्ने गिरोहलाई बचाउन जनप्रतिनिधिकै सक्रियता रहेको आरोप लगाएको छ ।

गाउँपार्टी सचिव नारायण घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रशासनको आदेशमा सिल गरिएको अवैध रासायनिक मल गाउँपालिकाको नेतृत्वमा बजार मूल्यभन्दा महंगो मूल्यमा किसानलाई वितरण गर्न लागिएको आरोप लगाएका छन् ।

आधिकारिक सप्लार्यसलाई छैन, कसरी भयो कालोबजारी ?

अरुण गाउँपालिकाले गाउँपालिकाका लागि कृषि रासायनिक मल खरिद गर्न एचपी सप्लार्यसलाई ठेक्का दिएको छ । सप्लायर्सले पारेको ठेक्का अनुसार ५० केजीको दरले १ हजार ३ सय ९५ बोरा डिएपी र २ हजार ६ सय ५ बोरा युरिया मल किसानलाई वितरण गरीने प्रावधान बनाएको छ ।

जसमध्ये कोटा अनुसार नै डिएपी मल गाउँपालिकाका लागि ल्याईसक्ने सप्लायर्सका प्रोपाइटर निर्मला शेर्पाले बताउनुभयो । उहाँका अनुसार युरिया मल भने ५ सय २० बोरा मात्रै आफुहरुलाई साल्ट टे«डिङले उपलब्ध गराएको र त्यो मल किसानकहाँ पु¥याई सकिएको छ ।

बाँकी रासायनिक मलका लागि साल्ट ट्रेडिङको डिपोले उपलब्ध नगराएको जनाईएको छ । साल्ट ट्रेडिङका प्रतिनिधिले पनि युरिया मल भण्डारण गरिएको गोदाम नजिकै क्वारेन्टाइन वार्ड बनाईएकोले ढुवानी गर्न असजिलो भएको भन्दै तत्काल मल उपलब्ध नगराएको शेर्पाको भनाइ छ ।

लकडाउनको बेला पनि कालोबजारी हुँदा खरिद र ढुवानी गर्ने आधिकारिक सप्लायर्सलाई समेत अप्ठ्यारोमा पारेको शेर्पाको गुनासो छ ।

LIVE TV