९ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, ९ जेठ । विहीबार नेपाली सेनाको फौज दार्चुलाको व्यास गाउँपालिका २ घाँटीबगरमा पुगेको छ ।

नेपाली सेनाले प्रेस विज्ञप्ती जारी गर्दै ‘दार्चुला टिंकर सडक’ निर्माणका लागि आवश्यक सामग्रीसहित विहीबार दार्चुलाको व्यास गाउँपालिका वटा नम्बर २ स्थित घाँटीबगर इलाकामा पुगेको जानकारी गराएको हो ।

विज्ञप्तीमा उल्लेख गरिएअनुसार विहीबार बिहान ११ बजेको समयमा नेपाली सेनाको एक सेक्सन प्लस फौज त्यहाँ पुगेको हो । त्यहाँ नेपाली सेनाले दुई मिटर चौडाईको ४ सय ५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण गर्ने जनाएको छ ।

त्यस्तै, बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको लागि आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीहरुसहितको टोली आज (शुक्रबार) पठाइएको जानकारी पनि गराइएको छ ।

चीन र भारतको सीमा नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका १ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १ सय ८२ घर परिवारको करिब १ हजार २०० जना स्थानीयले जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नको भारतको बाटो प्रयोग गर्दै आएका छन् । तर, अब नेपाली सेनाले उक्त बाटो बनाएपछि त्यहाँका स्थानीयलाई आजतजावतमा सहज हुने बताइएको छ ।

जसको लागि घाँटीबगर र मौरी भीर ईलाकामा पर्ने ४ सय ५० मिटर सडक खण्ड अविलम्ब सूचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम नेपाली सेनाको प्रावधिक जनशक्ति सहित से.मु. प्लस नफ्रिको फौज घाँटीबगर ईलाका पुगेको हो ।

गत बैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले महाकाली करिडोर (दार्चुला टिंकर सडक योजना) अन्तर्गतको उत्तरी तर्फको ८७ किलोमिटर सडक खण्डको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV