८ जेष्ठ २०७७, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज, ८ जेठ । नारायणी अस्पतालमा सञ्चालित डायलोसिस सेवा बन्द भएपछि ३६ दिन भित्र ७ जनाको मृत्यु भएको छ ।

मृगौलाको समस्या भई नारायणी अस्पतालमा डाइलोसिस गराई रहेका ४० जना विरामीहरुलाई नारायणी अस्पतालबाट नेशनल मेडिकल कलेजमा स्थानान्तरण गरिएसँगै एक महिनाको हाराहारीमा ७ जना विरामीले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउने विरामीहरुमा २४ वर्षीय कृष्णा ठाकुर, ६० वर्षीय नन्दलाल महतो, ३५ वर्षीय अजय कार्की, ५० वर्षीय तालबुन नेसा, ४५ वर्षीय नसरिन बानो, ६० वर्षीय नागेन्द्र झा तथा २४ वर्षीय रञ्जीत मण्डल रहेका छन् ।

नारायणी अस्पतालबाट डाइलोसिस सेवा पाउँदै आएका यी व्यक्तिहरु नेशनल मेडिकल कलेजमा डाइलोसिस गराउँदै आएका थिए ।

कोरोनाको महामारी फैलिरहेको अवस्थामा वीरगञ्जस्थित कुनै अस्पतालले कोरोना अस्पताल बनाउन नमानेपछि संघीय सरकारले नारायणी अस्पताललाई कारोना अस्पताल घोषणा गरेपछि इमरर्जेन्सी सहित सम्पूर्ण सेवाहरु बन्द गरिएको थियो ।

नारायणी अस्पताललाई कोरोना अस्पताल बनाउने संघीय सरकारले गरेको निर्णयलाई मध्यनजर गर्दै अस्पताल प्रशासनले वैशाख २ गते सार्वजनिक सूचना टाँस गर्दै सोही दिनदेखि अस्पतालको सम्पूर्ण सेवाहरु बन्द भएको र यहाँबाट पाउने सम्पूर्ण सेवाहरु नेशनल मेडिकल कलेजबाट लिने भनेर जानकारी गराएको थियो ।

अस्पतालले सूचना जारी गर्दै ‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको च.न. ६३५ मिति २०७६ चैत ३० को पत्रानुसार यस अस्पतालमा कोभिड १९ पोजिटिभ विरामीहरुको उपचार व्यवस्थापन शुरु गर्नुपर्ने भएकोले यस अस्पतालबाट सञ्चालित आकस्मिक सहितका अन्य सेवाहरु मिति २०७७ वैशाख २ गतेदेखि बन्द गरिएको सूचित गरिन्छ ।

यहाँबाट सेवा लिइरहनु भएका सेवाग्राहीहरुले नेशनल मेडिकल कलेज वीरगञ्जमा गई सेवा लिनु हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिन्छ । यसले सर्वसाधारणमा पर्ने असुविधाप्रति क्षमाप्रार्थी छौं ।’ भनेर उल्लेख गरिएको थियो ।

सूचना जारी गरेपछि सर्वसाधारणहरु उपचारको लागि मेडिकल कलेजमा पुगे पश्चात उपचारको नाममा सोझा साझा जनतालाई लुट्ने मात्रै कार्य भएको भन्दै विरोध पनि भयो तर मृगौला पीडितको लागि तोकिएको ठाउँमा उपचार गराउनुको विकल्प थिएन, बाध्य भएर त्यही डाइलोसिस गराउन जानुपर्ने भयो ।

नेशनल मेडिकल कलेजले पहिला देखि नै आफ्ना विरामीहरुलाई डाइलोसिस गर्दै आएकोमा नारायणी अस्पतालमा डाइलोसिस गराई रहेका ४० जना विरामीहरुलाई त्यही डाइलोसिस गराउनुपर्ने बाध्यता सृजना भयो ।

पूर्वाधार उत्तिकैमा ४० जना बढी विरामीलाई डाइलोसिस गर्नुपर्ने भएकोले मेशिनलाई तीब्र गतिमा चलाउनुको साथै एउटै मेशिनमा एक दिनमा १० जनालाई डाइलोसिस गरेको कारण विरामीहरु ज्यान गुमाउनु परेको विरामीको आफन्तको भनाई छ ।

नारायणी अस्पताललाई पुनः जनरल अस्पताल नै बनाउनुपर्ने भनेर आन्दोलन पनि भयो तर त्यो कागजमा मात्रै सीमित रह्यो, जसको परिणाम डाइलोसिस सेवा लिई रहेका विरामीहरुले भोग्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV