७ जेष्ठ २०७७, बुधबार
  • हरिशंकर शर्मा,

वीरगन्ज, ७ जेठ । कामको सिलसिलामा भारत पुगेका नेपाली नागरिकहरुले नेपाल प्रवेशको माग गर्दै रक्सौलमा विरोध प्रदर्शन गरेका छन ।

नेपाल भारत सीमावर्ती शहर रक्सौलको क्वारेन्टाइनमा विगत ५० दिनदेखि बस्दै आएका नेपाली नागरिकहरुले बुधबार नेपाल प्रवेशको माग गर्दै प्रदर्शन गरेका हुन् ।

रक्सौलको हजारीमल हाई स्कुलमा विहार सरकारले बनाएको क्वारेन्टाइनमा बस्दै आएका करिब १ सय ५० जना नेपाली नागरिकहरुले लकडाउनकै समयमा सडकमा निस्किएर प्रदर्शन गरेका हुन् ।

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरुलाई मंगलबार भारतीय महावाणिज्य दूतावास तथा जिल्ला प्रशासन कार्यालयको पहलमा भारत पठाइएको थियो ।

त्यस्तै, रक्सौलको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकहरुलाई बुधबार स्वदेश ल्याउने योजना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत जानकारी गराएको थियो । तर, बुधबार नेपाली नागरिकहरु स्वदेश आउन नपाउदा आक्रोशित बनेर विरोध प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV