७ जेष्ठ २०७७, बुधबार
  • बाल बिक्रम कार्की,

रौतहट, ७ जेठ । जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर १ बन्जारा टोलमा खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ ।

बुधबार साँझ ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा स्थानीय चन्देश्वर राय यादवको घर जलेर क्षति भएको छ । साँझको समयमा अचानक सुरु भएको आगलागी गाउँलेहरुले नियन्त्रणमा लिएको स्थानीय आलोक कुमार सोनीले जानकारी दिए ।

उनका अनुसार आगलागीका कारण यादवको घरमा रहेका खाद्यान्न, लत्ताकपडा, नगद, मोवाइल सेटहरु जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा यादवका छोरा जितेन्द्र राय यादव घाइते भएका छन् ।

उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको सोही वडाका वडाअध्यक्ष विगु साहले जानकारी दिए । आगोलागीको क्रममा वर्षा पनि भएको कारण ग्यास ठूलो क्षति हुन नपाएको वडा अध्यक्ष साहले बताए ।

आगलागीका कारण करिब १० लाख बराबरको क्षति भएको उनको अनुमान छ । आगोलागी नियन्त्रण पछि स्थानीयले सो ग्यास सिलिन्डरलाई सुरक्षित स्थानमा पु¥याएका थिए ।

आगलागीले बस्ने घर, लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएपछि यादव परिवार भने चिन्तामा परेका छन् । यो लकडाउनको अवस्थामा कसरी घर पुनः निर्माण गर्ने र खानाको जोहो कसरी गर्ने ? भन्ने चिन्ताले सताउन थालेको पीडित यादवले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV