७ जेष्ठ २०७७, बुधबार
  • हरिशंकर शर्मा

वीरगन्ज, ७ जेठ । लकडाउनको बेला टोल – टोलमा तरकारी बेच्नेहरुको संख्यामा वृद्धि भएको छ ।

सरकारले एक ठाउँमा जमघट नहुन तथा हाट बजारहरु लाग्न नदिएपछि तरकारी व्यापारीहरुले हरियो तरकारी बेच्न घर–घरमा पुगेर बेच्ने बाध्य भएका हुन् ।

तरकारी व्यापारीहरु साइकलमा तरकारी राखेर घरमै पुगेपछि सर्वसाधारणहरुलाई केही राहत पुगेको छ । लकडाउनको बेला बजार जानु नपर्ने र घरमै तरकारी किन्न पाएका कारण सर्वसाधारणहरुलाई यो समयमा केही राहत महसुस भएको छ ।

वीरगन्जको टोल–टोलमा अहिले तरकारी बेच्नेहरुको संख्यामा वृद्धि भएको छ । एका विहानैदेखि तरकारी व्यापारीहरु साइकलमा तरकारी बेच्न आउने गरेका छन् । खास गरेर वीरगन्जको पूर्व, पश्चिम, दक्षिण आसपास ग्रामीण भेगका व्यापारीहरु आफै साइकलमा तरकारी बोकेर यसरी बेच्ने गरेको दखिन्छ ।

तरकारी बजारमा पुग्न नसकेको कारण अहिले वीरगन्जमा तरकारीको भाउ पनि घटेको छ । आलु प्रतिकेजी ४० रुपैयाँ, प्याज प्रतिकेजी २० देखि २५ रुपैयाँ, हरियो तरकारी भिन्डी प्रतिकेजी १० रुपैयाँ, घिरौला प्रतिकेजी १५ रुपैयाँ, टमाटर प्रतिकेजी १५ रुपैँयामा व्यापारीहरुले घरमै तरकारी पु¥याएर बेच्ने गरेका छन् ।

यसबाट वीरगन्जबासीहरुले तरकारीको हकमा खासै समस्या खेप्नुपर्ने अवस्था रहेको छैन । घरमै सहजै तरकारी उपलब्ध भएको कारण सर्वसाधारणहरुलाई तरकारी किन्न पनि बाहिर जानुनपर्ने अवस्था रहेको छ ।

तरकारी विक्रीमा बालबालिकाको प्रयोग

लकडाउनको बेला पुगेर हरियो तरकारी विक्री गर्ने क्रममा बालबालिकाहरुको बढि प्रयोग भएको पाइएको छ । साना – साना बालबालिकाहरु टाउकोमा तरकारीले भरेको टोकरी बोकेर हिडेका छन् । वीरगञ्जको टोल–टोल, गल्ली –गल्लीमा पुगेर तरकारी बेच्ने गरेको धेरै बालबालीकाहरु देखिन्छन्। खास गरेर वीरगन्जको रानीघाट, श्रीपुर, अशोकवाटिका, घडिअर्वा, छपकैया, भिस्वा, नगवा, इनर्वा लगायतका स्थानहरुमा बालबालिकाहरु हरियो तरकारी विक्री वितरण गरिरहेको हुन्छन्।

बालिकाहरु टाउकोमा टोकरी बोकी ५÷१० केजी हरियो तरकारी राखी घरैमा पुगेर बेच्ने गरेका छन् भने बालकहरु साइकलमा प्लाष्टिकको क्यारेटमा तरकारी राखी विहान बेलुका तरकारी बेच्ने गरेका छन् । विहान ५ बजेदेखि ८ बजेसम्म तथा साँझ ५ बजेदेखि ८ बजेसम्म बालबालिकाहरु वीरगञ्जको टोलहरुमा तरकारी बेच्ने गरेका भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV