७ जेष्ठ २०७७, बुधबार

काठमाडाैं, ७ जेठ । सत्तारूढ दल (नेपाल कम्युनिष्ट पार्टी) नेकपा उपाध्यक्ष वामदेब गौतमले भारतद्वारा अतिक्रमित कालापानी, लुपुलेक र लिम्पियाधुरासहितको नक्सा पार्टी निर्णय अनुसार पारित गरेको दाबी गर्नुभएकाे छ ।

उपाध्यक्ष गौतमले पार्टी निर्णय अनुसार भएको कामलाई लिएर निश्चित व्यक्तिको देवत्वकरण नगर्न समेत आग्रह गर्नुभएकाे छ । ‘यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ ।

नयाँ नक्सालाई लिएर नेकपाभित्रकै केही नेताहरूले यो निर्णयको जस लिन खोजेपछि गौतमले त्यसमाथि प्रतिवाद गर्दै लेख्नुभएकाे छ‌, ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ।’

सोमबार सरकारले लिम्पियाधुरासम्म भुभाग समेटेर नेपालको नक्सा पारित गरेको थियो । नक्सा पारित भएकोमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली निकटका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको उच्च प्रशंसा गरेका थिए ।

उपाध्यक्ष गौतमले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले देशको नयाँ नक्सा सार्वजनिक गरेको पनि बताउनुभएकाे छ । ‘ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ, यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ।’

उपाध्यक्ष गौतमले नक्सा सार्वजनिक गर्ने विषयलाई सशक्त रुपमा उठाउने आफू भएको समेत दाबी गर्नुभएकाे छ । गाैतमले लेख्नु हुन्छ, ‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु, यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु,’

प्रतिक्रिया दिनुहोस्
LIVE TV