७ जेष्ठ २०७७, बुधबार
  • युवराज श्रेष्ठ

रामेछाप, ७ जेठ । रामेछापका कोरोना संक्रमित भनिएका खाँडादेवी गाउँपालिका वडा नम्बर १ धारापानीका जीवन श्रेष्ठ (नाम परिवर्तन)ले फोन सम्पर्क गर्दा आफूलाई कोरोना संक्रमण नभएको दाबी गरेका छन् ।

२०७६ साल चैत्र ११ गते आफू घरमा गएको र बैशाख ३० गते काठमाण्डौं फर्केको बताएका छन् । काठमाडाैँ फर्केपछि आफुलाई घरबेटीले बाहिरबाट आएकोले कोरोना परीक्षण गरेर मात्र आउन भनेपछि आफूले जेष्ठ २ गते टेकुमा गएर परीक्षण गरेर फर्केको उनले बताएका छन् ।

श्रेष्ठले हिजो आफूलाई टेकु अस्पतालले कोरोना नेगेटिभ आएको फोन गरेर जानकारी दिएको र अहिले आफू काठमाडाैँ मैतीदेवीमा रहेको आफ्नो कोठामा नै बसिरहेको उनले बताएका छन् ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने रामेछापको एक जना कोरोना संक्रमित भएको पुष्टि गरेसँगै जिल्ला स्वास्थ्य कार्यालय रामेछाप र जिल्ला प्रशासन कार्यालय रामेछापको टोली हिजो राति राकाथुममा पुगेर उनको परिवारका ८ जना सदस्य र छिमेकी ७ जना गरी १५ जनाको स्वाब संकलन गरेकाे छ । उनीहरूकाे स्वाब परीक्षणका लागि काठमाडाैँ पठाइसकेको जिल्ला स्वास्थ्य कार्यलय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने ती युवा स्वाब परीक्षणपछि आफ्नो कोठामा गएकोले टेकु अस्पतालको सम्पर्कमा नआएको हुन सक्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले युवा कोठामा नै रहेको खबर आएपछि आफूले जिल्ला प्रशासन कार्यालय काठमाडाैँलाई जानकारी गराएको र उनको कोठामा जिल्ला प्रशासन कार्यालय काठमाडाैँको टोली गइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV