५ जेष्ठ २०७७, सोमबार
  • राजन परियार,

सिन्धुली, ५ जेठ । कोरोना भाइरसको संक्रमण बढेसँगै सोमवार सिन्धुली अस्पतालमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणमा २० जनामा पोजिटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनु भएको छ ।

सिन्धुली जिल्ला अस्पतालका कर्मचारी, जिल्ला प्रशासनका कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी र सर्वसाधारण गरी १ सय ५९ जनामा गरिएको आरडीटी परीक्षणमा २० जनामा पोजिटिभ पाइएको शाहले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालका १२ जना कर्मचारीमा पोजिटिभ देखिएको छ भने अन्य कार्यालयका ८ जनामा पोजिटिभ देखिएको शाहले जनकारी दिनुभयो ।

सोमवार गरिएको -यापिड टेष्टमा पोजिटिभ देखिएपछि सबै सजग रहन र धैर्य गर्न सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर प्रसन्न राजभण्डारीले अपील गर्नुभएको छ ।

अस्पतालका कर्मचारी लगायतको -यापिट टेष्ट गर्दा पोजिटिभ देखिए पनि पीसीआर टेष्टका लागि भोलि स्वाब संकलन गरेर परीक्षणमा पठाउने कार्य भैरहेको डाक्टर राजभण्डारीले जानकारी दिनुभयो ।

जिल्लाको एकमात्र अस्पताल सिन्धुली अस्पतालकै कर्मचारीहरुमा आरडीटी पोजिटिभ देखिएपछि सिन्धुली अस्पताललाई उच्च सतर्कता अपनाइएको छ ।

अस्पतालबाट इमरजेन्सी र प्रसुति बाहेकका सवै सेवा वन्द गरिने सिन्धुली जिल्ला अस्पतालका अध्यक्ष प्रलाद पोख्रेलले जानकारी दिनुभयो ।

पोख्रेलले भन्नुभयो, ‘जिल्लामा एकमात्र अस्पताल भएका कारण कोरोना बाहेक अत्यन्त गम्भीर र प्रसुति भन्दा बाहेकका सेवा सम्भव छैन, अस्पतालमा अन्यलाई पनि खतरा बढ्ने भएको छ, अस्पतालका कर्मचारीको सम्पर्कमा आएकाहरुको पहिचान गरि उनिहरुको पनि परीक्षण गर्नु पर्ने थप चुनौती थपिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV