
- राजेन्द्र अधिकारी,
पोखरा, ५ जेठ । भारतले लिपुलेक हुँदै चीन जोड्ने सडक बनाएर नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै पोखरामा विद्यार्थीहरुले पटक–पटक विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रतिबन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द ‘विप्लव’) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जनप्रिय बहुमुखी क्याम्पस पोखराको गेट बाहिर आज सोमबार विरोध प्रदर्शन गरेको हो ।

भारतले दार्चुलाको लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने सडकमार्ग निर्माण गरी नेपालको सीमा मिचेको भन्दै भारत विरुद्ध अखिल (क्रान्तिकारी)का विद्यार्थीहरुले पोखरामा पटक–पटक विरोध प्रदर्शन गरिरहेका छन् ।
यस अघि अखिल (क्रान्तिकारी)का विद्यार्थीहरुले कालिका सशस्त्र प्रहरी गण पोखरा–५ मालेपाटन नजिक प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला दहन गरेका थिए ।

सोमबार उनीहरुले जनप्रिय क्याम्पस गेट बाहिर ‘नरेन्द्र मोदी–मुर्दावाद’, ‘भारतीय साम्राज्यवाद–मुर्दावाद’, ‘भारतीय सेना कालापानी छोड’, ‘सीमा मिच्न पाईदैंन, हाम्रो भूमि फिर्ता गर’, ‘अतिक्रमित सम्पूर्ण भूमि फिर्ता गर’, ‘दलाल सरकार मुर्दावाद’, ‘देश बेच्न पाइदैंन’, गो व्याक मोदी’ लगायतका पर्चाहरु बोकेर विद्यार्थीहरुले विरोध गरेका थिए ।
अखिल (क्रान्तिकारी) कास्की जिल्ला संयोजक पुरन मगरले अहिलेको सरकारले सीमा अतिक्रमणका विषयमा गम्भीर ढंगले पहल नगरे यसका विरुद्धमा क्रान्तिकारी विद्यार्थीहरु कालापानी, लिपुलेक र लिम्पियाधूरामा अतिक्रमण गरेर बनाईएका भारतीय चेकपोष्टहरुमा बम बनेर बर्षने चेतावनी दिनुभयो ।