५ जेष्ठ २०७७, सोमबार
  • हरिशंकर शर्मा

वीरगञ्ज, ५ जेठ । नेपालकै लागि कोरोना संक्रमणको हट स्पोट बन्दै गएको वीरगञ्जमा कोरोना परीक्षण गर्ने पीसीआर किट र भीटीएम (स्वाब राख्ने भाँडो) अभावले गर्दा स्वाब संकलन कार्य रोकिएको छ ।

सोमबार विहानसम्म बचेको लगभग ५० वटा किट र भीटीएमले संक्रमित क्षेत्रको नागरिकको स्वाब संकलन गरेर अपरान्ह्बाट स्वाब संकलन गर्ने कार्य रोकिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा। मदन कुमार उपाध्यायले जानकारी दिनुभयो ।

वीरगञ्जमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको अवस्थामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग गरी सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गर्नुपर्ने हुन्छ, तर कन्ट्याक्ट टे«सिङ्गको कार्य भएपनि स्वाब संकलन गर्ने भाँडो र पीसीआर किट नभएको कारण स्वाब संकलन कार्य सोमबार दिउँसोदेखि रोकिएको हो ।

कोरोना संक्रमित परीक्षणको लागि पीसीआर मेशिन वीरगञ्जमा सञ्चालन भएपनि त्यसको सामान पर्याप्त उपलब्ध हुन नसक्दा स्वाब संकलन तथा कोरोना परीक्षणमा समस्या भइरहेको छ ।

वीरगञ्जमा सञ्चालनमा आएको पीसीआर मेशिनबाट अहिलेसम्म करिब ४ सय जनाको स्वाब परीक्षण भइसकेको छ भने काठमाडौं तथा हेटौडाको ल्याबमा वीरगन्जका २ हजार भन्दा बढी व्यक्तिको स्वाब परीक्षण भइसकेको छ ।

केही दिन अघिसम्म स्वाब परीक्षणको लागि काठमाडौंको ल्याबमा भरपर्ने अवस्था न्यूनीकरण भएको देखिएपनि यहाँ संक्रमितको आशंकामा गरिएको कन्ट्याक्ट ट्रेसिङ्ग अनुसार व्यक्तिहरुको पीसीआर परीक्षण हुन सकिरहेको छैन ।

स्वाब संकलनका लागि वीरगन्ज महानगरपालिका लगायत पर्साको ग्रामीण भेग छिपहरमाई गाउँपालिका, इनर्वा, छपकैया लगायतका स्थानमा कन्ट्याक्ट ट्रेसिङ्गको कार्य सम्पन्न भइसकेको छ, ।

जसको लागि कम्तिमा ३ हजार पीसीआर किट र भीटीएमको आवश्यक्ता छ तर सोमबार पूरै सकिएको कारण कन्ट्याक्ट ट्रेसिङ्ग भएको व्यक्तिहरुको पनि स्वाब संकलन गर्नमा समस्या भएको हो । अस्पतालका मेसु डा. उपाध्यायका अनुसार सोमबार रातिसम्म कोरोना परीक्षणका लागि चाहिने किट तथा भीटीएम आइपुग्ने बताउनुभयो ।

सोमबार विहानसम्म पर्सामा ९१ जना संक्रमितहरु पुष्टि भएका छन । जसमध्ये वीरगञ्ज महानगरपालिका – ३ छपकैयाका मात्रै ४० जना छन् भने छिपहरमाई गाउँपालिकाका १३ जना, कालिकामाई गाउँपालिकाका १ जना तथा बाँकी संक्रमित वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरुका छन् ।

गत मंगलबार एकैदिन पर्सामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुरक्षा समितिले त्यही दिन राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गर्यो तर निषेधाज्ञाबीचमा नै स्वाब संकलन कार्य रोकिएपछि चर्को विरोध हुन थालेको छ ।

छपकैयाबाट सबैभन्दा बढि संक्रमित पुष्टि भएको कारण त्यहाँ गरिएको कन्ट्याक्ट ट्रेसिङ्गबाट फेला परेका थप ६० जनाको हालसम्म स्वाब समेत संकलन हुन सकेको छैन ।

यसरी निषेधाज्ञा लागू गरेर सम्बन्धित निकायले चेकजाँचको लागि चाहिने सामानहरु उपलब्ध नगराई चेकजाँचको कार्यलाई रोक्नुले सर्वसाधारणको असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV