५ जेष्ठ २०७७, सोमबार
  • शीतल भट्ट

बेलाैरी, ०५ जेठ । सशस्त्र प्रहरीले कञ्चनपुरमा सीमा क्षेत्रबाट हुने आवागमन राेक्न अनेक काेसिस गरिरहेकाे छ । यसै क्रममा भारतीय सीमावर्ती क्षेत्रबाट अनावश्यक रुपमा नेपाल भित्रिन नदिन मचान बनाएर सशस्त्रले दुरबिन (वाइनाकुलर) बाट उच्च निगरानी बढाएको छ ।

भारतबाट धमाधम लुकिछिपी नेपाल छिर्न थालेपछि सशस्त्र प्रहरीले टाढासम्म अवलोकन गर्नका लागि दुरबिन विधि अघि सारेको हो । कोरोना भाईरस (कोडिभ–१९) रोकथाम तथा भित्रिन नदिन कञ्चनपुर जिल्लाभरि सशस्त्र प्रहरी खटिएकाे छ ।

स्वास्थ्य चेकजाँच सुरू

साथै जिल्लाभरि खटिएकाे सशस्त्र प्रहरीका जवानहरूकाे खटिएकै स्थानमा स्वास्थ्य चेकजाँच शुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपालबाट खटिएको सशस्त्र प्रहरी चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले खटिएकै स्थानबाट स्वास्थ्य चेकजाँच सुरू गरेकाे हाे ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बिरसिंह शाहुले कोरोनाबाट बाँच्नका लागि प्रारम्भिक चरणमा सबै सशस्त्र प्रहरी बलका कर्मचारीको स्वास्थ्य चेकजाँच गरिन लागिएको बताए ।
दुईतिर दक्षिण र पश्चिम भारतसँग १ सय २९. ५ किलोमिटर दुरीमा सीमा जोडिएको कञ्चनपुरमा खटिएका सशस्त्र प्रहरीहरूको स्वास्थका लागि चेकजाँच गरिन लागिएको छ ।

‘हाम्रो फौज संगठन हो, सीमा क्षेत्रमा २४ सै घण्टा सशस्त्र प्रहरी बल खटिएको छ । उताबाट यता र यताबाट उता जानेलाई सीमा क्षेत्रमा नियन्त्रण गर्नुपर्छ,’ सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शाहुले भने, ‘ठुलो फौज अहोरात्र जनताको सुरक्षामा खटिएको वेला जहाँबाट पनि संक्रमण फैलिन सक्छ । त्यसैले पहिल्यै कर्मचारीको स्वास्थ्य चेकअप भइरहेको छ ।’

सशस्त्र प्रहरी बलबाट डा. अर्जुन कुमार यादव नेतृत्वको चिकित्सक एव स्वास्थ्यकर्मीको टोलीले कञ्चनपुरमा खटिएकै स्थानबाट उनीहरूकाे चेकजाँच सुरू गरेको हाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV