५ जेष्ठ २०७७, सोमबार
  • शीतल भट्ट

कञ्चनपुर, ०५ जेठ । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले समाजिक दुरी कायम गर्न पटक-पटक आग्रह गर्दा पनि सरकारी निकायबाटै नियम उलङ्घन भइरहेको छ ।

कञ्चनपुरमा बैंक, विद्युत लगायत पसल, अस्पतालमा समाजिक दुरी कायम गरिएको छैन । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरमा समाजिक दुरीको रतिभर पनि पालना गरिएको देखिएन । विगतकै जस्तो कोचाकोच गरेर उपभोक्ताले विद्युत महसुल बुझाउनुपरेको छ ।

विद्युतका उपभोक्ताहरुले समयमै विद्युत महसुल नबुझाउँदा लाइन काट्ने र बुझाउन आउँदा विद्युत कार्यालयबाट समाजिक दुरीका लागि व्यवस्थापन नगरिएकाे भन्दै स्थानीय पनि रूष्ट छन् । भीडभाडै भए पनि घरमा लाइन काट्नबाट जोगिन जोखिम मोलेर उनीहरूले महसुल बुझाउने गरेको बताएका छन् ।

भीमदत्त नगरपालिका-२ उल्टाखामका उपभोक्ता धर्मराज जोशीले कोरोना महामारीका बेला विद्युत कार्यालयबाट महसुल बुझाउन/बुझ्नका लागि समाजिक दुरी कायम गरेर व्यवस्थापन गर्नुको साटो कोचाकोच गरेर महसुल बुझाउने कामबाट जोखिम बढाएको बताए ।

कञ्चनपुरका विद्यार्थी नेता समेत रहेका जोशीले कार्यालयकै कमी-कमजोरीका कारण नागरिकमा जोखिम बढ्ने चिन्ता रहेकाे बताए । उनले उचित व्यवस्थापनका लागि कार्यालयले यथाशिघ्र ध्यान दिनपर्ने बताए ।

उपभोक्ताहरुले वडा कार्यालय मार्फत गाउँबाटै विद्युत महसुल बुझाउनुपर्ने वा कार्यालयमै भए पनि समाजिक दुरी कायम गरेर कुन-दिन कुन वडाको भनेर व्यवस्थापन गर्नुपर्ने उनले सुझाव दिएका छन् । विद्युत प्राधिकरणका कर्मचारीले भने सबैतिरका उभोक्ता एकैपटक आउँदा समस्या भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV