५ जेष्ठ २०७७, सोमबार
  • अमर काफ्ले

इनरुवा, ५ जेठ । सुनसरीमा अहिलेसम्म १५ सय ९ जनाको परीक्षण गरिएको छ । जसमध्ये ३ सय ९३ जनाको पीसीआर परीक्षण गरिएको छ । आरडिटी परीक्षणको संख्या ११ सय १६ रहेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा परीक्षण गरिएकाहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार परीक्षण मापदण्ड अनुरुप सम्भावित जोखिम र शंकास्पद अवस्थालाई हेरी प्राथमिकताका आधारमा पीसीआर र आरडिटी परीक्षण गरिएको हो ।

रीक्षणको दायरा बढाउन लागिएको पनि प्रसाईले जानकारी दिनुभयाे । बढी भन्दा बढी परीक्षण गर्ने लक्षसाथ कार्यालय तयारीमा जुटेको समेत उहाँले जानकारी दिनुभयाे । बढी मात्रामा पीसीआर परीक्षणलाई जोड दिनुभयाे ।

यतिबेला सुनसरीमा शंकास्पद बाहेक विभिन्न क्वारेन्टाइनमा रहेकाहरुको पीसीआर परीक्षणलाई तिव्रता दिइएको छ । सुनसरीमा क्वारेन्टाइनमा रहेकाको संख्या १ सय १३ छ । रामधुनीको सन्दर्भमा १९ जनाको स्वाब परीक्षण गरिएकोमा १८ जनाको नेगेटिभ नतिजा आएको छ । एक जनाको भने पूनः स्वाब संकलन गरी परीक्षणको क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसका अलावा संक्रमित महिलासँगकाे कन्ट्याक ट्रेसिङका आधारमा थप २ जनाको समेत स्वाब संकलन गरिएको र रिपोर्ट आउने क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । झुम्काकी महिलाको संक्रमणको स्रोत भने अझै सम्म खुलिसकेको छैन् ।

यसैगरी कोरोना संक्रमित पाइएकी महिला पास बनाउन जिल्ला प्रशासन कार्यालयमा समेत पुगेकी हुँदा उक्त कार्यालयका केही कर्मचारीको समेत स्वाब संकलन गरिएको छ । संक्रमित महिला सँगको सम्पर्कमा रहेका कर्मचारीहरुको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले
जनाएको छ ।

कार्यालयले छिमेकी जिल्लामा संक्रमित भेटिएको र खुला सीमा रहेकाले समेत परीक्षणको दर बढाउनुको विकल्प नरहेको स्पष्ट पारेको छ । जसका लागि किट लगायतका आवश्यक बन्दोवस्तीका सामान मगाइएको कार्यालयको भनाई छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार संचारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोरोना संक्रमणका बिच प्रत्यक्ष रुपमा सक्रिय रहेकाहरुको समेत परीक्षण गर्ने गरी तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV