५ जेष्ठ २०७७, सोमबार
  • बाल बिक्रम कार्की

रौतहट, ५ जेठ । रौतहटमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा संक्रमितको संख्या २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित पुष्टि हुनेहरुमा जिल्लाको इशनाथ नगरपालिका वडा नं २,३,६ र ९ निवासी २१ देखि ३० वर्षीय पुरुषहरु र माधवनारायण नगरपालिका- ३ निवासी २८ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।

इशनाथ नगरपालिका भेटिएका सबै स्थानीय क्वारेटाइनमा रहेका प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय सीमाबाट हालसालै उद्धार गरेर ल्याइएका हुन् ।

यसैगरी माधवनारयण नगरपालिकाकी संक्रमित महिला पनि हाल क्वारेटाइनमै रहेको सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ्यले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिलाको घरमा भारतबाट पाहुना आएको थाहा पाएपछि उनको परिवारलाई नै क्वारेनटाइनमै राखिएका थिए ।

उनको परिवारका अन्य सदस्यमा भने संक्रमण नेदेखिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादवका अनुसार ती महिलाको घरमा सर्लाही घर भएका आफन्त भारतबाट आएर बसेका थिए । त्याे थाहापाएपछि पाहुनासहित १३ जनालाई क्वारेन्टाइनमा लगेर राखिएको थियो । ती पाहुनाको पिसिआर विधिबाट गरिएको परिक्षण भने नेगेटिभ आएको पुष्टि भएपछि उनलाई दुइदिन अगाडि सर्लाही पठाइएको थियो ।

त्यसैगरी परिवारका अन्य ११ जनाको रिर्पोट पनि नेगेटिभ आएकोमा ती महिलाको मात्र कसरी पोजेटिभ आयो भनेर आफुहरु अच्चममा परेको उहाँको भनाइ छ । ‘ती महिलाका परिवारका सदस्य र १ वर्षको बच्चा पनि संक्रमण देखिएन,’ उहाँले भन्नुभयो, ‘ती महिलालाई मात्र कसरी संक्रमण भयो हामी छक्क परिरहेका छौँ । सबैको पुनः परिक्षण हुनुपर्छ ।’

उहाँका अनुसार ती महिला घरबाट बाहिर पनि कतै नगएकाले पनि संक्रमण देखिनु आश्चर्यजनक रहेको छ । सो नगरपालिकामा यसअघि कसैलाई पनि संक्रमण पुष्टि भएको छैन् । संक्रमित सबैको जिल्ला स्थित गौर नसिङ्ग क्याम्पसमा उपचार गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

उहाँले संक्रमितहरुको कन्ट्याक ट्रेसिङ्ग लगायतको कार्यहरु गर्ने तयारी भइसकेको जानकारी दिनुभयो । आइतबार पुष्टि भएका १० जनालाई पनि जिल्लामै राखेर उपचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV