५ जेष्ठ २०७७, सोमबार
  • घनश्याम मिश्र

जनकपुरधाम, ५ जेठ । नेपालमा २८ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएपछि देशैभरि चुनौती बढेको छ । त्यसमा पनि प्रदेश- २ का सबै ८ वटै जिल्लामा कोरोना संक्रमण देखिएपछि प्रदेश- २ उच्च जोखिममा रहेको छ ।

धनुषा जिल्लामा समेत ५ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । कोरोना संक्रमण धनुषामा समेत देखा पर्न थालेपछि प्रदेश- २ काे अस्थायी राजधानी समेत रहेकाे जनकपुरधाममा उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । तर सो हिसाबले तयारी देखिएको छैन । न क्वारेन्टाइनको उचित व्यवस्थापन गरिएको छ, न त आइसोलेसनको नै ।

क्वारेन्टाइन तथा आइसोलेसनको विषयलाई लिएर प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाको कडा आलोचना हुँदै आइरहेको छ । यद्यपि त्यसमा सुधार भने अहिलेसम्म देखिएको छैन ।

क्वारेन्टाइनको आवश्यकता देखेर जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षले आफ्नो वार्डका पदाधिकारीहरु तथा पारिवारिक सदस्यहरुको सहयोगमा झण्डै दुई महिनाअगाडि १० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरे । शुरुको दुई महिना सो क्वारेण्टाइनमा कोही बस्न आएनन् ।

जब जनकपुरधामकै सञ्चारकर्मी वीरेन्द्र रमणमा कोरोना संक्रमण रहेको पुष्टि भयो, त्यसपछि उनको सबै पारिवारिक सदस्यहरुलाई जनकपुरधाम उपमहानगरपालिकाले स्वस्तिक अस्पतालमा स्थापना गरेको क्वारेन्टाइनमा राख्याे । उनीहरुलाई पुर्याइएको दिन नै क्वारेन्टाइनमा गरिएको व्यवस्थापन उदांगो भयो । न समयमा खाना दिइन्थ्यो, न पिउनलाई पानी । दिए पनि रुखो व्यवहार गरिन्थ्यो ।

दुई दिन सो क्वारेन्टाइनमा बिताएका सञ्चारकर्मी रमणको परिवारका सदस्यले बताए । त्यसमाथि क्वारेन्टाइनअगाडि नै फोहोरको थुप्रो राखिएको थियो । त्यहाँ रुखो व्यवहार खेपिरहेकाहरुलाई संचारकर्मीहरुकै पहलमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहले स्थापना गरेको क्वारेन्टाइनमा सारियो । अहिले उनीहरुको अनुहारमा मुस्कान छ । ‘घरजस्तै माहौल यहाँ दिइएकोले खुशी छु,’ क्वारेन्टाइनमै रहेका एक जनाले भने ।

वडाध्यक्ष साहले स्थापना गरेको सो क्वारेन्टाइनमा अहिले जम्मा ९ जना छन् । ४ बच्चा, ३ महिला र २ पुरुष त्यहाँ बसिरहेकाे वडाध्यक्ष साहले जानकारी दिए । क्वारेन्टाइनमा रहेकाहरुको रेखदेख वडाध्यक्ष स्वयंले सहयोगीहरुका साथै गरिरहेका छन् । उनकै पहलमा क्वारेन्टाइनमा रहेकाहरुलाई बिहान ७ बजे चिया, बिस्कुट, फलफुल, ११ बजे खाना, दुई बजे फेरि चिया, ४ बजे खाजा र फेरि राति ८ बजे खाना दिइन्छ ।

उपमहानगरको सहयोग नपाएकाे गुनासाे

जनकपुरधाम वडा नम्बर ७ मा जानकी सरोवर पोखरी छ । सोही पोखरीको डिलमा रामजानकी आधारभूत विद्यालय रहेको छ । सो विद्यालयको मनोरम दृश्यले जो-कोहीलाइ लोभ्याउन सक्छ । यही मनाेरम वातावरणमा छ वडाकाे क्वारेन्टाइन ।

कोरोना संक्रमणको त्रास बढेसँगै वडा अध्यक्ष साहले आफ्ना वडावासीमा जोखिम बढ्न नदिने उद्देश्यका साथ क्वारेन्टाइ बनाएका थिए । सो विद्यालयभन्दा उपयुक्त स्थल क्वारेन्टाइनका लागि अरु कुनै ठाउँ नलागेकोले त्यही स्थापना गरेको वडाध्यक्ष साहले बताए ।

सो क्वारेन्टाइनमा दुई जना चिकित्सक पनि राखिएको छ । ती चिकित्सकहरु वडाकै वासिन्दा हुन् । उनीहरु सेवाभावले सो क्वारेण्टाइनमा खटिएका छन् ।

वडाध्यक्ष साह भन्छन् ‘आफूले वडामा क्वारेन्टाइन त स्थापना गरेँ, तर उपमहानगरबाट जस्तो सहयोग पाउनुपर्ने थियो, त्याे भने पाउन सकिनँ । उपमहानगरलाई सफाई गराउनका लागि ताकेता गर्नुपर्छ, डस्टबिन माग्न पनि कतिपटक धाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV