४ जेष्ठ २०७७, आईतवार

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दलका सांसदद्धय महेश बस्नेत र कृष्ण श्रेष्ठ किसानले महोत्तरीबाट काठमाडौं ल्याएको नभई उनी राजीखुसी आएको देखिएकाले ‘अपहरण’ भन्न नमिल्ने निष्कर्ष प्रहरीले निकालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा उक्त जाहेरीमाथि अनुसन्धान गर्दा जबरजस्ती तथा बल प्रयोग भएको दाबी प्रमाणसहित पुष्टि नभएकाले ‘अपहरण’ भन्न नमिल्ने प्रहरीले निष्कर्ष निकालेको हो ।

राय हेर्दा जबरर्जती तथा बल प्रयोग भएको दावी प्रमाणसहित पुष्टि नभएकाले ‘अपहरण’ गरेको भन्न नमिल्ने निष्कर्षलाई सदर गर्ने सम्भावना बढी भएको जानकारी गराइएको छ । सरकारी वकिल कार्यालयमा प्रतिवेदन आइपुगेको र त्यसलाई अध्ययन गरेर मात्रै के हुन्छ भन्न सकिने जनाइएको छ ।

उक्त प्रतिवेदन अध्ययन गर्नका लागि १÷२ दिन समय लाग्ने, त्यसपछि मात्रै केही भन्न सकिने सरकारी वकीलको कार्यालयले जनाएको छ ।

प्रहरी प्रतिवेदनमा अनुसन्धान गर्नुपर्ने पाटो छुटेको पाइएमा सरकारी वकीलले थप निर्देशन दिएर प्रतिवेदन ल्याउन आदेश गर्न सक्ने जानकारी गराइएको छ । तर, प्रतिवेदन चित्त बुझेमा सोही अनुसार निर्णय गर्नसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV