४ जेष्ठ २०७७, आईतवार

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

बााँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरस कोभिड १९ का कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको थियो ।

उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको छ ।

गए राति उनको स्वास्थ्यमा समस्या भए पछि बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै विहान ६ बजेर ४० मिनेटमा ती युवककोे मृत्यु भएको पनि प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

मृत्यु भएका युवकमा ज्वरो र झाडापखाला जस्ता समस्या देखिएको पनि देवकोटाले बताउनुभयो ।

यस अघि एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाब सङ्कलन शनिवार मात्र गरिएको थियो ।

गत साताको बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टाइनमा रहेका ६ सय ४१ नेपाली सबै भारतबाट आएका हुन् ।

पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको छ ।

यस अघि हिजो सिन्धुपाल्चोकको एक सुत्केरी महिलाको कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV