४ जेष्ठ २०७७, आईतवार
  • हरिशंकर शर्मा

बीरगञ्ज, ४ जेठ । पर्सा जिल्लामा कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणमा स्थानीय प्रशासन र सरोकारवाला निकाय चुकेको भन्दै विद्यार्थी संगठनले आपत्ति जनाएको छ ।

राष्ट्रिय विद्यार्थी संघ पर्साले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै वीरगञ्जमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितहरुको उपचार व्यस्थापनमा स्थानीय प्रसाशन एवं स्थानीय निकाय चुकेको आरोप लगाउँदै सुधारको माग गरेको छ ।

संघका जिल्ला अध्यक्ष मधुसुधन चौरसियाद्वारा जारी विज्ञप्तीमा स्थानीय प्रशासन, नारायणी अस्पताल प्रशासन र अन्य सरोकारवाला निकायहरुले कोरोना रोकथाम तथा संक्रमितहरुको व्यस्थापनमा लापरवाही गरेको आरोप लगाउँदै तत्काल त्यसलाई सुधार गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ “कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिहरुको उपचार र व्यस्थापनमा नारायणी अस्पतालको प्रशासन र सम्बन्धित सबै सरोकारवाला निकायहरु कमजोर देखिएका छन, कोरोनाबाट संक्रमित व्यक्तिहरुलाई भर्ना गरिएको वीरगञ्ज स्थित नारायणी अस्पतालमा संक्रमितहरुलाई उपलब्ध गराइएको खाना गुणस्तरहीन हुनाका साथै अपर्याप्त भएकोले यस्तो अवस्थामा बिरामीहरुलाई पौष्टिक युक्त खानाको आवश्यक पर्ने भएकोले तत्काल सम्बन्धित निकायले सुधार गरिनु पर्छ ।’

त्यसैगरी अस्पतालको सरसफाईमा समेत समस्या देखिएको उल्लेख गर्दै विज्ञप्तीमा शौचालयदेखि संक्रमित बस्ने वडामा फोहर रहेकोले सरसफाईमा ध्यान दिन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV