४ जेष्ठ २०७७, आईतवार

काठमाडौं, ४ बैशाख । विश्वव्यापी रुपमा फैलिँदो कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारमा स्वयं चिकित्सक नै त्रसित छन् । त्यसमा पनि कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु भएकाहरुको शव छुन जो कोहिले चाहदैनन्, सक्दैनन् र हम्मेसी आँट गर्दैनन पनि ।

कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने कानुनी कार्यव्यवस्था छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरिएको हो ।

तर हिजो कारोनाका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शब परिवारले उठाउन नपाएपछि अरुले बोक्न त के छुन समेत धेरै हिचकिचाए । कसैले महिलाको शब बोक्न मानेन ।

धुलिखेलमा रहेका एम्बुलेन्सले शव उठाउन समेत मानेन । तर नेपाल स्काउटका स्काउट लिडर तथा सामाजिक अभियन्ता राजेश गाईजु र अरुण सैंजुको टिमले भक्तपुरबाट गएर उचित स्वास्थ्थ सर्तकता सहित व्यवस्थित ढंगले शबलाई पशुपतिसम्म पु-याए ।

नेपाल स्काउट अन्तर्गत जिल्ला स्काउट कार्यालय भक्तपुरमा कृयाशिल स्काउट लिडर गाईजु र सैंजुको टोलीले धुलिखेलबाट पशुपति आर्यघाटसम्म पु¥याउने काम गरेसँगै सामाजिक सञ्जालमा यतिबेला उनिहरुको चर्चा चुलिएको छ ।

उनीहरु भक्तपुरस्थित महावीर दल गणबाट साढे ७ बजे धुलिखेल लागे । उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीले स्कटिङ गरेर लगेकोे थियो । भक्तपुरको जगातीमा पुगेपछि उनीहरुको गाडीलाई डिसइन्फेक्ट गरियो ।

त्यसपछि गाडी धुलिखेल अस्पताल हानियो । अस्पताल पुग्दा तीनै तहको सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो । त्यसपछि एम्बुलेन्समा राखेर उनीहरुलाई शब गृहमा लगियो ।

शव व्यवस्थापन गर्न उनीहरुलाई भक्तपुरको महावीर गणमा ‘डेथ बडी ह्यान्डलिङ ड्रिल’ तालिम दिइएको थियो । जहाँ उनीहरुलाई शवलाई प्लाष्टिकमा बेर्नेदेखि गाडीमा राखेर निश्चित क्षेत्रसम्म पु¥याउनेबारे तालिम दिइएको थियो ।

शब गृहमा पुग्दा त्यहाँ उनका श्रीमान् र अस्पतालका एक जना कर्मचारी मात्र थिए । शव उठाउने प्रयास गरे, तर शव भारी भएकाले उठाउँन सकेनन् । अनि गाईजु र सैंजु अघि सरे ।

शब पहिलै ‘क्याडाभर पाउच’ अर्थात् बडी ब्यागमा प्याक गरि सकिएको थियो । तर व्यागको बाहिरी पट्टी रगत लतपतिएको थियो । उनीहरुले आफ्नो साथमा लगेको बडी व्यागमा पुनः प्याक गरे । त्यस बाहिर फेरि प्लाष्टिकले प्याक गरेर शवलाई गाडीमा राखियो ।

गाडी रफ्तारमा पशुपतिनाथ मन्दिरको विद्युतीय शव दाहगृहमा आइपुग्यो । सुनसान सडक, सेनाको लस्करको गाडी, सबैको आँखामा डर, कामेका हातले बाँकी जिम्मेवारी पूरा गर्न बल दिइरहेको थिएन ।

तर, पनि छिटो भन्दा छिटो शवको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी भएकाले उनीहरु विचलित भएनन् । तर, पनि शवदाह गृहमा मेसिन भित्र शव हाल्न कोही अघि सरेनन् । उनीहरु दुई जनाले नै शवलाई मेसिनमा हालेर अन्त्येष्टि गरे ।

अन्त्येष्टि हुन्जेल सबै त्यही थिए । छेउमा झोक्राएर मृतकका श्रीमान् थिए । मनले आँसु थामिरहेका भान हुन्थ्यो । भर्खरै जन्मिएको ९ दिने सन्तान उनको मानसपटलमा घुमिरहेको भान हुन्थ्यो ।

उनले न अन्तिम समयमा आफ्नी प्रियालाई अंगालो मारेर रुन सके । बस्, शवदाहमा उनको अन्तिम शेष बाँकी नहुन्जेल टुलुटुल हेरि मात्र रहे । नियति यस्तै रहेछ ।

शव बोकेको गाडी चलाउँदै धुलिखेलबाट पशुपति पुगेका अरुण र राजेश हाल महावीर गण भन्दा ३ सय मिटर भित्र रहेको सेनाको आइसोलेसनमा छन् । केही समय उनीहरु पहिला झै कोरोना संक्रमितको उद्दार र परीक्षणमा सक्रिय हुने छैनन् ।

आइसोलेसनमा रहँदा उनीहरुको नियमित स्वास्थ्य परीक्षण हुनेछ । यो प्रतिकुल घडीमा विभिन्न बहाना बनाएर शब बोक्न नमानेको थाहा पाएपछि आफुहरुअघि सरेको राजेशले बताए ।

उनीहरु लकडाउन भएदेखि नै भक्तपुरमा सम्भावित संक्रमितलाई उद्धार तथा सहयोगमा स्वतःस्फूर्त रुपमा खटिदै आएका थिए । भक्तपुर निवासी राजेश गाईजु र अरुण सैंजू यो काममा दिनरात नभनी खटिइरहेका थिए ।

भक्तपुर कै न्हुज किजू र दीप थकू पनि यो काममा उनीहरुसँगै भक्तपुर अस्पताल परिसरमै त्रिपाल टाँगेर २४ सै घण्टा बस्दै आएका छन् ।

भक्तपुर अस्पताल, नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा रहेर काम गर्दै आए उनिहरु । सम्भावित व्यक्तिको घरसम्म पुगेर उनीहरुलाई अस्पताल पु¥याउने, यात्रा विवरण बटुल्ने, परीक्षणका लागि उनीहरुको स्वाब प्रयोगशालासम्म पु¥याइदिने काममा सक्रिय छन् ।

राजेश र अरुणले कोभिड १९ बाट नेपालमा पहिलो मृत महिलाको व्यवस्थापनमा जुन साहस देखाए उनीहरुको त्यो साहसलाई सबैले सलाम गरेका छन् ।

(राजिब खत्रीले राजेश गाइजुसँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
LIVE TV