४ जेष्ठ २०७७, आईतवार

काठमाडौँ, ४ जेठ । बिहीबार राति धुलिखेल अस्पतालमा ज्यान मुमाएकी महिलाको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण भएको पुष्टि भएपछि अहिले उनको बाँकी परिवारका सदस्यहरुको पनि कोरोना परीक्षण गरिँदै छ ।

सिन्धुपाल्चोककी २९ वर्षीया मृतक महिलाको शनिबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनले गएको वैशाख २४ गते त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज)मा शिशुलाई जन्म दिएकी थिइन् । अहिले उनले छोडेर गएको ११ दिने शिशुको पनि कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

नवजात शिशुसहित परिवारका चार जना सदस्यको स्वाब संकलन गरिसकिएको धुलिखेल अस्पतालले जनाएको छ । अहिले उनीहरु सबैलाई सोही अस्पतालको आइसोलेसनमा राखिएको छ ।

मृतक महिलाको नवजात शिशुका साथै उनका श्रीमान, आमा र बहिनी अहिले आइसोलेसनमा छन् । अस्पताल स्रोतका अनुसार भोलिसम्म सबैको पीसीआर रिपोर्ट आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV