४ जेष्ठ २०७७, आईतवार
  • इरफान अली

वीरगंज, ४ जेठ । यहाँस्थित नारायणी अस्पतालमा रहेको आइसोलेशन वार्डको अवस्था दयनीय रहेकाे छ । प्रदेश- २ का अधिकांश संक्रमितहरुको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

नारायणी अस्पतालमा उपचार गराइरहेका काेराेना भाइरस संत्रमितहरुमध्ये एकले न्युज २४ लाई बताएअनुसार आइसोलेशन कक्ष गोठसरह बनाएर मानिस काेच्ने काम मात्र भइरहेको छ । नारायणी अस्पतालको आइसोलेशनमा बसेकाहरुका अनुसार कोरोनाले नभए पनि यहाँको फोहोर र दुर्गन्धले मानिसको ज्यान जाने सम्भावना बढी छ ।

बिहान र बेलुका एक छाक खाना मात्र पाएको तथा खानेपानी समेतको उत्तम प्रबन्ध नरहेको संक्रमितहरुको भनाइ छ । शौच गर्न जाँदा अस्पतालको शौचालयको अवस्थाले साना बच्चाहरु अन्य रोगको संक्रमणमा आउन सक्ने उनीहरु बताउँछन् ।

नारायणी अस्पातालले प्रदान गर्दै आएको सेवा-सुविधा तथा उपचार गुणस्तरहीन रहेको छ । भर्ना भएकाहरूलाइ डढेको रोटी, प्लाष्टिक (पाेलिथिन) मा प्याक भएको दालभात र तरकारी खुवाउने गरिएकाे छ, जुन खानयाेग्य समेत नरहेकाे उपचाररत व्यक्तिबाट गुनासाे सुनिएकाे छ । अस्पताल व्यवस्थापनमा ध्यान गएकाे देखिन्न ।

प्रदेश- २ मा सबैभन्दा बढी कोरोनाका बिरामी पर्साको वीरगंजमा नै (९१ संक्रमित) रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मध्ये वीरगञ्जस्थित नारायणी अस्पतालमा २ महिने बालकसहित ६३ पुरुष र ८ महिला गरी ७१ जनाको उपचार भइरहेको छ । सिद्धार्थ माविमा बनाएको सेमि आइसोलेशन कक्षमा पनि १३ पुरुष र ६ महिलाको उपचार भइरहेको छ ।

संक्रमितहरुको संख्या बढ्दै जाँदा पर्सालगायत यस आसपासका क्षेत्रलाई सन्त्रासमय बनाएको छ भने स्थानीय सरकारले बैशाख ३१ गतेदेखि पर्सा जिल्लामा निषेधाज्ञा समेत जारी गरेको छ । निषेधाज्ञा जारीपश्चात पर्साको सहरी क्षेत्रलगायत ग्रामीण भेगका बासिन्दालाई प्रभावित गरेको छ र दैनिक जनजीवन समेत कष्टकर बन्दै गएको छ ।

गत चैत्र ३० गते ३ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएसंगै उनीहरुको सम्पर्कमा रहेका नेपालीको परीक्षण गर्दा संख्यात्मक वृद्धि भएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV