४ जेष्ठ २०७७, आईतवार
  • घनश्याम मिश्र

धनुषा, ४ जेठ । धनुषामा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले समेत प्रेस विज्ञप्ति जारी गरेर धनुषाका २० बर्षीय र ६५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि गरेका छन् ।

संक्रमित दुवै जना चितवन बाट धनुषा आएका थिए । संक्रमित व्यक्तिहरु धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोडघास गाउँका बासिन्दा हुन् । उनीहरु अहिले धनुषाको नगराइन नगरपालिकाको गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनमा बसेका छन् । उक्त क्वारेन्टाइनका संयोजक सन्तोष ठाकुरका अनुसार संक्रमितहरु चितवनबाट धनुषा आएका थिए ।

‘बैशाख ३० गते उनीहरु चितवनबाट घर नगराइन नगरपालिका पुगेका थिए,’ ठाकुरले भने, ‘दुबै जना आफ्नो घर पुगेर घर-परिवारमा घुलमिल समेत भएपछि स्थानीय प्रहरीले उनीहरुलाई क्वारेन्टाइनमा पठाएका थिए ।’ ठाकुरका अनुसार उनीहरु चितवनबाट पैदल हिँडेर पथलैयासम्म आएका थिए । त्यसपछि ट्रकमा चढेर त कहीं फेरि पैदल हिडेर गाउँ सम्म आएका थिए । उनीहरु चितवनमा मैदा कारखानामा काम गर्थे ।

उनीहरु क्वारेनटाइनमा आएकै दिन बैशाख ३० गते स्वाब संकलन गरिएको थियो । अहिले उनीहरु क्वारेन्टाइनमा नै रहेको भए पनि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरको कोभिड-१९ विशेष अस्पतालमा पठाउने तयारी गरिएको छ ।

एता धनुषाका प्रमुख जिल्ला अधिकारीले न्यूज २४ संग कुरा गर्दै भने, ‘२ जना व्यक्ति नातेदार हुन् भन्ने बुझिएको छ र चितवनबाट नै साइकलमा आएको हो भन्ने खबर प्राप्त भएको छ । हामी विस्तृत बुझदै छौँ ।’

LIVE TV