४ जेष्ठ २०७७, आईतवार

सिन्धुपाल्चोक, ४ जेठ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण जिल्लाकी एक महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएपछि ती महिलाको प्रारम्भिक उपचार गरिएको अस्पताल तथा गाउँक्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७, ८ देखि बाह्रबिसे नगरपालिका, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रलाई सिल गरिएको छ ।

बाह्रबिसे नगरक्षेत्रकी सुत्केरी महिला कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको खबरले सबैजना त्रसित बनेका छन् ।

‘स्थानीय एकदमै आतंकित बनेका छन् । सचेतना अपनाउनको लागि सल्लाह दिइरहेका छौं । गाउँदेखि बजारसम्मै डरले बाहिर निक्लिएका छैनन्,’ बाह्रबिसे नगरपालिका वडा ९ का अध्यक्ष सानु लामाले भने । स्थानीयको सुरक्षाको लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई गुर्हार्दै यसबारे नगरभरका जनप्रतिनिधि छलफलमा जुटिरहेको उनले जनाए ।

२९ वर्षकी महिलाले बैशाख २३ गते काठमाडौंको महराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएलगत्तै एम्बुलेन्सबाट बाह्रबिसे फिरेकी उनी बिहीबार बिहानदेखि बिरामी परेकी थिइन् ।

निजी बोलेरोबाट उपचारर्थ बाह्रबिसे बजार आइपुगेकी उनलाई ज्वरो, रुघाखोकी र स्वासप्रस्वासमा समस्या भएर अवस्था जटिल बनेपछि तत्कालै काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको बाह्रबिसे नगरस्थित बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रकी डा. सिर्जना मर्हजनले बताइन् ।

‘उनमा छात्ती दुख्ने र स्वासप्रस्वासमा समस्या, ज्वरोको देखिएको थियो, अवस्था एकदमै गम्भिर देखिएपछि काभ्रेको धुलिखेल अस्पताल रिफर गरेका थियौं,’ मर्हजनले भनिन् । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV